Prakash Adhikari July 23, 2018

वाशिंटन (संयुक्त राज्य अमेरिका), ७ साउन । ननेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको प्रवासी नेपालीहरुको संगठन जन सम्पर्क समिति अमेरिकाले एक कडा विज्ञप्ति प्रकाशित गर्दै नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको के.पी. ओली सरकारले अधिनायवादी शैली परित्याग नगरेमा सरकारका विरुद्धको आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्ने  चेतावनी दिएको छ ।

जन सम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्बाड.द्धारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रका स्थापित मूल्यमान्यताको रक्षा गर्दै, चिकित्सा स्वास्थ्य विधेयक विज्ञहरुको सुझाब अनुरुप आएको अध्यादेश अनुसार हुनुपर्ने डा. गोविन्द केसीको मागलाई संवोधन गराउँनको लागि देश विदेशमा बस्ने आम नेपालीहरूलाई घनीघुत ढंगले अधिनायकवाद उन्मुख कम्यूनिष्ट सरकारको बिरूद्धमा एकै साथ आवज बुलन्द गरी,अन्तराष्ट्रिय रूपमा आन्दोलनको ज्वारभाटा ल्याउन नेपाली जनसम्पर्क समिति अमेरिका सबैलाई आह्वान गर्दै, आवश्यकता अनुसार मुद्दालाई अन्तराष्ट्रियकरण गराउँन अमेरिकाको विभिन्न ठाउँमा कार्यक्रमहरू गरीने कुराको जानकारी समेत यसै विज्ञप्ति मार्फत गराउँदछौ । ‘

जनसम्पर्क समिति अमेरिकाले डा. गोविन्द केसीले आम सर्वसाधारण जनताको हितका निमित्त चिकित्सा शिक्षामा सुधारको माग राखी गरेको आमरण अनशनप्रति एेक्यबद्धता जनाएको छ । उसले डा. के.सी.को जीवन रक्षाका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारले माथेमा प्रतिवेदन र आम नागरिकको भावना अनुरुप ल्याएको अध्यादेश मार्फत जारी गरिएको चिकित्सा शिक्षा विधेयकलाई हुबहु लागु गर्न समेत जोडदार माँग गरेको छ ।

समितिले संसदबाटै निर्वाचित अघिल्लो सरकारले गरेको लोकहितकारी निर्णयहरूलाई वर्तमान सरकारले बदनियतपूर्ण ढंगले विधि र कानुनको उल्लघंन गरी उल्ट्याएकोमा घोर बिरोध गर्दै, अबिलम्ब अघिल्लो सरकारले ल्याएको कार्यक्रमहरुलाई निरन्तरता दिन समेत माँग राखेको छ ।

जनसम्पर्क समितिले आफ्नो लामो विज्ञप्तिमा नेपालको लोकतन्त्र र लोकतान्त्रिक पद्धतिप्रति वर्तमान सरकारका क्रियाकलापले चिन्ता उत्पन्न गराएको उल्लेख गरेको छ । उसले, नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक संविधान निर्माणको कार्य सम्पन्न गरेर, मुलुकमा तीन वटै तहको सरकारहरू निर्वाचित भएर आए पछि विवादित राजनीतिक विषय वस्तुहरूको अन्त भै आर्थिक विकासमा केन्द्रित हुने अवस्था आएको उल्लेख गरेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले भनेको छ, वर्तमान सरकारले लामो संघर्षबाट प्राप्त उक्त लोकतान्त्रिक संविधानको मर्म र भावनालाई मिचेर स्वेच्छाचारी ढंगले गरेका निर्णय, व्यवहार र सरकारी नितिलाई हेर्दा वर्तमान सरकार कम्यूनिष्ट अधिनायकवादतर्फ उन्मुख भएको ठहर प्रवासमा बस्ने आम लोकतन्त्रवादी नेपालीहरू र हाम्रो संगठनले गरेको छ ।

अधिनायकवाद उन्मुख कम्यूनिष्ट सरकारको गतिविधिको लामो सूची उल्लेख गर्दैै समितिले भनेको छ, ‘मुलुकको संविधान र संवैधानिक व्यवस्थाको ठाडो उल्लघंन गर्दै, नेपाल तरूणदलको शान्तिपूर्ण जुलुसमाथि वानेश्वरमा गरेको निर्मम आक्रमण, जुम्लामा डा. केसी र स्वास्थ्य संस्थामाथि गरेको जबरजस्ति र अन्धाधुन्द धरपकड, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, अलग(अलग पार्टीबाट राखिनु पर्ने पदहरूमा गरेको नियन्त्रण, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, ढुंगेल प्रकरण मार्फत गरेको न्यायलयको अपमान, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न, ट्रेड युनियन अधिकार खोस्ने प्रपन्च , अलग विचार राख्नेलाई गरेको आक्रमण, एनआरएनहरूको भावनामा गहिरो चोट पुग्ने गरी दिएको मन्त्री लालबाबु पण्डितको आक्रोसित अभिव्यक्ति , उपत्यकामा घोषणा गरिएको निशेधित क्षेत्र, अनियन्त्रित बजार मूल्यबृद्धि तथा विभिन्न संवैधानिक निकायमा भएको सरकारी हस्तक्षेप, देशैं भरी सरकारी संरक्षणमा मौलाउदै गएको दण्डहिनता, राष्ट्रसेवक, कर्मचारी र शैक्षिक क्षेत्रमा अन्यायपूर्ण गरेको राज्यआतंकले सरकारले लोकतान्त्रिक चरित्र त्याग्दै गएको प्रष्ट हुन्छ ।’

नेपाली जनसम्पर्क समिति अमेरिकाले सरकारका अधिनायकवादी चरित्रको घोर निन्दा र भर्त्सना गर्दै बहुमतको आडमा थालिएको कम्यूनिष्ट सर्वसत्तावादी रवैया तत्काल बन्दगरी लामो संघर्षबाट निर्माण भएको मुलुकको लोकतान्त्रिक संविधानको अक्षरश पालना गर्न कडा चेतावनीका साथ आग्रह गरेको छ ।
जनसम्पर्क समितिले विभिन्न चरणका आन्दोलनका क्रममा अधिनायकवादी सरकारी दमनबाट घाइते भएकाहरूको शिघ्र स्वास्थलाभको कामना पनि गरेको छ ।

Share Now

Leave a comment.