Prakash Adhikari May 23, 2025

-प्रदीप बस्याल
संवाददाता, बीबीसी न्यूज नेपाली

काठमाडौं, ८ जेठ । चार ब्रिटिश आरोहीहरूले पाँच दिनभित्रै तीव्र गतिमा गरेको सगरमाथा आरोहणले विवाद निम्त्याएको छ। आरोहण तयारी गर्ने क्रममा ती आरोहीहरूले एक विवादित ग्यास जेनन प्रयोग गरेको बताएपछि नेपाल सरकारका अधिकारीहरूले त्यसबारे छानबिन थालिएको बीबीसीलाई बताएका छन्।

उच्च हिमाली भेगमा नपुगिकनै अक्सिजनको मात्रा न्यून हुने अवस्थासँग शरीरलाई अनुकूलन तुल्याउन जेनन ग्यासको प्रयोग गरेका उनीहरू १६ मे अर्थात् गत शुक्रवार दिउँसो लण्डनबाट निस्किएर २१ मे अर्थात् बुधवार बिहान सगरमाथाको चुचुरोमा पुगेका थिए।

नेपाली अधिकारीहरूले भने चुचुरो पुग्ने क्रममा ती आरोहीहरूले आफ्नो शारीरिक क्षमता बढाउन जेनन ग्यासको प्रयोग गर्नुले साहसिक खेलको रूपमा समेत हेरिने पर्वतारोहणमा परम्परागत तरिकाले प्रयास गर्ने अरू आरोहीहरूको हकमा असमान अवस्था सिर्जना हुनजाने चिन्ता व्यक्त गरेका छन्।

पर्यटन विभागका एकजना निर्देशक हिमाल गौतमले भन्नुभएको छ, “पर्वतारोहणलाई साहसिक खेलका रूपमा समेत हेरिन्छ। यसमा धेरैका रेकर्ड बनाउने र तोड्ने पक्ष जोडिएका हुन्छन्। त्यसले त्यसमा सबैलाई फेअर प्लेको अवसर हुनुपर्छ भन्नेमा सरकार प्रस्ट छ।”

 

खेलकुदमा शारीरिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न रासायनिक पदार्थ वा औषधि दुरुपयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वर्ल्ड एन्टि(डोपिङ एजेन्सी'(डब्ल्यूएडीए)ले जेननलाई प्रतिबन्धित पदार्थको सूचीमा राखेको छ।

तर सो आरोहण कम्पनीका प्रमुखले उक्त प्रतिबन्ध निश्चित नियमहरूले निर्देशित गरिएका खेलकुदका हकमा मात्र लागु हुने र सगरमाथा आरोहण त्यस्तो खेलकुद नभएको भन्ने प्रतिक्रिया बीबीसीलाई दिनुभएको छ।

“सगरमाथा आरोहणलाई न डब्ल्यूएडीएका नियमहरूले बाँधेको छ न त यो खेल प्रतिस्पर्धा नै हो”, आरोहण सञ्चालक अस्ट्रियाली गाइड लुकास फर्टनबाखले भन्नुभयो।

नेपाली आरोहीहरूको एक सङ्गठनका प्रमुखले विज्ञान र प्रविधिको अनुसन्धानका नाममा हुने प्रयासहरूले पर्वतारोहणको खास ‘मूल्य-मान्यता’मा असर पुर्‍याउने प्रतिक्रिया दिनुभएको छ ।

आमआरोही जसरी आधार शिविरमा उचाइसँग अनुकुलनका लागि उल्लेख्य समय नबिताईकन छिटो आरोहण सम्भव गरेका हिसाबले यी ब्रिटिश आरोहीको सफलतालाई कीर्तिमान मानिएको छ।

तर केही शेर्पाहरू यसअघिका वर्षहरूमै १० घण्टादेखि एक दिनभित्रै आधार शिविरबाट चुचुरोसम्म पुगेका उदाहरणहरू पनि छन्।

नेपाल सरकार के भन्छ ?

नेपाल सरकारका अधिकारीहरूले यस आरोहणबाट सार्वजनिक भएका खबरहरूसँगै आफूहरूको ध्यानकृष्ट भएको र त्यसबारे आरोहण पक्षको प्रस्टीकरण मागिएको जनाएका छन्।

पर्यटन विभागका पर्वतारोहण हेर्ने निर्देशक हिमाल गौतमले सामान्यतः अनुमति लिएका व्यक्तिको शारीरिक र स्वास्थ्य अवस्थाबारे हिमाल चढ्नुअघि हेक्का राखिने भए तापनि यो पछिल्लो समाचारबारै आरोहणपछि मात्र आफूहरू अवगत भएको बीबीसीलाई बताउनुभयो।

अन्य हकमा धेरैजसो कुरा आरोही पक्षले नै स्वघोषणा गर्नुपर्ने ठानिने बताउँदै यस घटनाले सरकारलाई त्यसबारे नीतिगत समीक्षा गर्नुपर्ने देखाएको उहाँ बताउनु हुन्छ।

“तर यहाँ अन्य देशमा प्रतिबन्धित भएको ग्यासको कुरा जब उठ्छ त्यसले सरकारको चासो र चिन्ता बढाएको छ”, गौतम भन्नुहुन्छ ।

खेलाडीहरूले आफ्नो रगतमा रातो रक्तकोष ९आरबीसी०को मात्रा बढाउन र शारीरिक बल बढाउन जेनन र आर्गन ग्यास सेवन गर्ने गरेको विवरण सार्वजनिक भएपछि सन् २०१४ मा खेलकुदमा ती दुवै ग्यासको प्रयोगमाथि प्रतिबन्ध लगाइएको हो।

पर्यटन विभागले आरोहण दलसँग तत्काल गरिएको संवादमा उनीहरूले आफ्नो नवीन शैलीले ‘कार्बन फुटप्रिन्ट कम गर्ने र हिमालको शुद्धता कायम राख्नेु भएकाले ‘त्यसो किन नगर्नेरु’ भन्ने धारणा राखेको अधिकारीहरू बताउँछन्।

“यसबारे धेरै कुरा बुझ्ने काम हुँदैछ। हालकै लागि नीतिगत प्रस्टता र भविष्यमा हुनुपर्ने देखिएका परिवर्तनका लागि हामी मन्त्रालयसँग समेत परामर्श गर्छौँ’, निर्देशक गौतमले भन्नुभयो ।

आरोहीहरूको प्रतिरक्षा

आरोहण सञ्चालक लुकास फर्टनबाख डब्ल्यूएडीएले प्रतिबन्ध लगाएका कैयौँ पदार्थहरू पर्वतारोहणमा व्यापक रूपमा प्रयोग भइरहेको दाबी गर्नुहुन्छ।

उहाँले त्यसो भनेर हिमालमा डेक्सामेथसोन (अक्यूट माउन्टेन सिक्नेस हुन नदिन प्रयोग हुने औषधि)आस्मा स्प्रे, डायमक्स, र अक्सिजन नै पनि प्रयोग भइरहेको बताउनुहुन्छ ।

‘के अबदेखि सबै पर्वतारोहीहरू अक्सिजन र लेक लाग्नबाट जोगिने औषधि बिना नै आरोहण गर्नुपर्ने हो र?’त्यसो गरे मृत्युको सङ्ख्या ह्वात्तै बढ्नेछ’, फर्टनबाखको प्रतिक्रिया छ।” उहाँले आफूहरूले जेननको प्रयोग शरीरलाई कडा खालको लेक लाग्नबाट जोगाउन गरेको र त्यसले आरोहण सुरक्षित बनाएको दाबी पनि गर्नुभयो।

“विश्वले बर्सेनि सगरमाथामा कैयौँ मृत्युका घटना देखिराखेका बेला पर्यटन विभाग सगरमाथालाई थप सुरक्षित बनाउने विरुद्धमा छ भन्ने मलाई लाग्दैन”, सञ्चालक फर्टनबाखले भन्नुभयो।

उहाँले आफूहरूले जेनन नेपालमा वा हिमालमा प्रयोग नगरेको बरू आरोहीहरूले पश्चिमा स्वास्थ्य मापदण्डहरू पालना गर्दै जर्मनीमा त्यसको सेवन गरेका दाबी गर्नुभयो।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्षले यस विवादलाई खेलका रूपमा रहँदै आएको आरोहण गतिविधिलाई यसका ुपरम्परागत मूल्य मान्यताुसँग जोडेर हेरिनुपर्ने बताउनुभयो।

“ती मूल्य मान्यताभित्र रहेर आरोहण गर्दा मात्र पर्वतारोहणको केही महत्त्व र अर्थ रहन्छ होला नत्र प्रविधिको पछि मात्र लाग्ने हो भने त केबलकार लगेर सगरमाथाको चुच्चोमा पुर्‍याउँदा हुन्छ”, सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बीबीसीलाई भन्नुभयो, “यो शेर्पाहरूलाई मार पर्ने विषय मात्र पनि होइन, पर्वतारोहणको मूल्य(मान्यताको विषय हो।”

शेर्पाले नेपाल सरकार विगतदेखि नै नीति निर्माणमा चुकिरहँदा यस्ता अवस्था देखिने गरेको बताउनुभयो।

पर्वतारोहणलाई साहसिक खेलकुद गतिविधि मान्ने हो भने सबै कुरालाई प्रविधिसँग मात्र जोडेर हेर्न नमिल्ने निमानुरु शेर्पा बताउनुहुन्छ।

“खेलका रूपमा पर्वतारोहण भनेको आफ्नो शरीर कति अनुकूल हुँदै जान्छ भन्ने स्वयं ठम्याउँदै आफ्नो हिसाबले चढ्ने हो”, शेर्पा भन्नुहुन्छ, “यो त खेलाडीहरूले डोपिङ (शक्ति बढाउने औषधि तथा शैली) प्रयोग गरेजस्तो भयो। खेलमा जस्तै डोपिङको विषयबाट हेर्दा यो गैरकानुनी हुन जान्छ।”

जेनन के हो ?

पृथ्वीको वायुमण्डलमा जेनन ग्यास सानो मात्रामा पाइन्छ। जेनन हिलिअम, निअन, आर्गन र क्रिप्टनजस्तै ुअधातुु तत्त्व हो। यी सबै तत्त्वहरू ग्यासको स्वरूपमा हुन्छन्।

यी तत्त्वको समूहलाई ‘नोबल ग्यास’ भनिन्छ। सामान्य अवस्थामा यी ग्यासहरूले अरू पदार्थसँग रासायनिक प्रतिक्रिया गर्दैनन्।

जेनन ग्यासको कुनै रङ्ग र गन्ध हुँदैन। यो विषालु हुँदैन।

एनेस्थेटिक (बिरामीलाई शल्यक्रिया वा अरू प्रक्रियाका लागि अचेत बनाउने), एनल्जेसिक (दुखाइ घटाउने) र कार्डिओप्रोटेक्टिभ (मुटुको रक्षा गर्ने) गुण भएकाले जेनन ग्यासलाई चिकित्सा शास्त्रमा पनि प्रयोग गरेको पाइन्छ।

जेनन र आर्गन ग्यासले मान्छेको शरीरभित्र रातो रक्तकोष र स्टेरोइड बन्ने ठानिन्छ।

डब्ल्यूएडीएले सन् २०२५ मा अद्यावधिक गरेको प्रतिबन्धित पदार्थहरूको सूचीमा जेननलाई एरिथ्रोपोइअटिन्स (ईपीओ) एन्ड एजेन्ट्स अफेक्टिङ एरिथ्रोपोइअसिसुको वर्गमा राखेको छ।

सन् २०१४ मा प्रकाशित केही विवरणहरूले रुसी धावकहरूले वर्षौँदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुनुअघि ती ग्यास प्रयोग गर्ने गरेको दाबी गरेका थिए।

Share Now