Prakash Adhikari May 31, 2025

बैंकक(थाइल्याण्ड), १७ जेठ । पहिलो अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली थाइल्याण्डसँग १-० गोल अन्तरले पराजित भएको छ।

थाइल्याण्डमा क्लोज डोरमा शुक्रवार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने थाइल्याण्डले एक गोल गर्यो। सोही गोलमा नेपाल बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग १-० ले पराजित हुन पुग्यो।

अब नेपालले सोमवार दोस्रो मैत्रिपूर्ण खेल खेल्नेछ। सो खेल भने ओपन डोरमा नै हुनेछ। यी दुई मैत्रिपूर्ण खेलको लागि व्यवसायिक लिग खेलिरहेका सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेल सीधै थाइल्याण्ड पुगेका थिए। कप्तान एन्जिला र भुटानमा पहिलो पटक विदेशी लिग खेलेकी पूजा राना भने नेपाल आएर थाइल्याण्ड गएका हुन्।

यी दुवै खेल नेपालले एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ को छनोट चरणको तयारी स्वरूप खेल्न लागेको हो। छनोट जुन ४ देखि सुरू हुनेछ। नेपाल समूह ‘एफ’ मा लाओस, श्रीलंका र उज्बेकिस्तानसँग रहेको छ।

३४ टिमहरूलाई छ वटा समूहमा चार-चार टिम र दुई वटा समूहमा पाँच-पाँच टिम गरी विभाजन गरिएको छ। छनोट चरणहरू क्याम्बोडिया, इन्डोनेसिया, जोर्डन, म्यानमार, ताजिकिस्तान, थाईल्यान्ड, उज्बेकिस्तान र भियतनाममा हुनेछन्।

आठ समूह विजेताहरूले सन् २०२६ को मार्च १ देखि २६ सम्म हुने फाइनल चरणमा डिफेन्डिङ च्याम्पियन चीन , कोरिया रिपब्लिक र जापानसँग प्रतिस्पर्धा गर्नेछन्।

नेपाली टोली
गोलकिपर: अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः अमृता जैसी, गीता राना, विमला बि।क।, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई

मिडफिल्डरः अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ

फर्वाडः सबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता के.सी., रेखा पौडेल

Share Now