बंगलुरु(कर्नाटका), जेठ (एजेन्सी) ।रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) जितेपछि विजयोत्सव मनाउनुपर्ने क्रममा ११ जनाको मृत्यु भएको छ।
बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियम नजिकै बुधवार उत्पन्न भागदौडमा ११ जनाको मृत्यु भएको छ। अन्य धेरै मानिस घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ।
कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले घटनाको कारण पत्ता लगाउन छानबिनको आदेश दिएका छन्। उनले भने, ‘म यो घटनाको बचाउ गर्न चाहन्न। हाम्रो सरकारले यसमा राजनीति गर्ने छैन। मैले मजिस्ट्रेट जाँचको आदेश दिएको छु र १५ दिनको समय दिएको छु।’
‘स्टेडियममा साना गेटहरू मात्र छन्। मानिसहरू गेट हुँदै प्रवेश गरे । गेट नै तोडियो । त्यसपछि भागदौड भयो। कसैले पनि यति ठूलो भीडको अपेक्षा गरेको थिएनन् । स्टेडियमको क्षमता ३५ हजार हो । तर २/३ लाख मानिस आएका थिए। म यो अस्वीकार गर्दिन । त्यसैले नै मैले जाँचको आदेश दिएको छु। यस घटनाको पीडाले जितको खुशीलाई छायाँमा पारेको छ’ मुख्य मन्त्रीले भनेका थिए।
बुधबार दिउँसो भीड नियन्त्रित गर्न खटिएका धेरैजसो प्रहरीहरूलाई साना बालबालिकादेखि लिएर धेरै फ्यानहरूलाई अस्पताल पुर्याउँदै गरेको देखिएको थियो। आरसिबी टोलीले स्टेडियमभित्र करिब २५ हजार फ्यानको अगाडि ट्रफी प्रदर्शन गर्दै उत्सव जारी राखेको थियो।
बाहिरको अव्यवस्थाका कारण राज्य प्रहरीले आरसिबीलाई कार्यक्रम छोट्याउन निर्देशन दिएको थियो। योजना गरिएको विजय यात्रालाई पनि छोट्याएर खेलाडी चाँडै बाहिरिएका थिए।
कार्यक्रम सकिएको केही घण्टापछि आरसिबीले विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘हामी बेंगलुरुमा भएको सार्वजनिक भीडको सन्दर्भमा आएका दु:खद समाचारहरूबाट गहिरो पीडा महसुस गरेका छौं। सबैको सुरक्षा र भलाइ हाम्रो उच्च प्राथमिकता हो। आरसिबी मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ र पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ। जब हामीलाई परिस्थिति थाहा भयो, तत्कालै हामीले हाम्रो कार्यक्रम परिमार्जन गर्यौं र स्थानीय प्रशासनको निर्देशन अनुसार चल्यौं। हामी सबै समर्थकहरूलाई सुरक्षित रहन अनुरोध गर्दछौं।’
बिसीसीआई सचिव देवजित सैकियाले शोक प्रकट गर्दै भनेका थियो,’ यो एकदमै दुर्भाग्यपूर्ण हो। लोकप्रियताको नकारात्मक पक्ष हो यो। मानिसहरू क्रिकेटरप्रति पागल छन्। आयोजकले राम्रो योजना बनाउनु पर्थ्यो। मृतकका परिवारप्रति म गहिरो समवेदना छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। “
आरसिबीले पंजाब किंग्सविरुद्धको फाइनल जितेपछि बेंगलुरुमा उत्सव हुने खबर मंगलबार राति आएको थियो। विराट कोहलीले भनेका थिए, ‘म साँचो उत्सव तब महसुस गर्नेछु, जब हामी बेंगलुरु पुग्छौं । ती फ्यानहरू सँगै मनाउँछौं जसले हामीलाई जहिले साथ दिए।’
बुधबार बेंगलुरुमा कार्यक्रम कसरी संचालन हुने भन्नेमा स्पष्टता थिएन। बिहान ९:४५ बजे आरसीबीले आफ्नो टोलीको एयरपोर्टदेखि चिन्नास्वामी स्टेडियमसम्मको यात्रा विवरण सार्वजनिक गर्यो। तर दिउँसो १२ बजे ट्राफिक प्रहरीले कुनै पनि सार्वजनिक कार्यक्रम नहुने र स्टेडियम प्रवेश पास वा टिकटबाट मात्र हुने जानकारी दिएको थियो। दिउँसो केही समयमा आरसीबीले विजय यात्राको जानकारी दिँदै सर्तक रहन अनुरोध गर्यो।
बिहान १० बजे नै हजारौं फ्यानहरू देवनहल्लीस्थित केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीको स्वागत गर्न पुगे। भारी ट्राफिकका कारण टोलीलाई पुरानो एचएहल विमानस्थलमा ल्याइयो। उनीहरू दिउँसो २ बजे पुगेको र उपमुख्यमन्त्री डीके शिवकुमारले स्वागत गरेका थिए।
त्यसपछि टोली होटल हुँदै ४:५५ मा विधान सौध पुग्यो र मुख्यमन्त्रीसँग भेट गरेपछि ५:४५ बजे चिन्नास्वामी स्टेडियम पुगेको थियो। त्यो समयमा बेंगलुरुको केन्द्र भागमा भारी भीड थियो। मेट्रो सेवा स्थगित गर्नुपर्यो र अतिरिक्त निजी सुरक्षाकर्मी बोलाइएको थियो । नजिकका स्टेशनहरू बन्द गरिएका थिए । मोबाइल जैमर प्रयोग गरिएको जानकारी पनि स्टेडियम अधिकारीहरूले दिएका थिए ।


















