काठमाडौं, १२ आषाढ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो ६७ औं बार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको छ ।
निगममा कार्यरत बहालवाला कर्मचारी र पूर्वकर्मचारीहरुको सहभागिता रहेको सो प्रतियोगितामा प्रमिला लुईँटेल प्रथम, विनय पौडेल द्धितीय र भाष्कर खनाल तृतीय हुनुभएको थियो । सान्त्वना पुरस्कार नारायण पौडेल र सौगात वाग्लेले पाउनुभएको थियो ।
प्रतियोगितामा निगमका २३ जना कर्मचारीले कविता वाचन गरेका थिए ।
प्रतियोगिताका विजेता कविहरुलाई प्रमुख अतिथि एवम् निगमका कार्यकारी अध्यक्ष वरिष्ठ साहित्यकार युवराज अधिकारीले नगद पुरस्कार,प्रमाणपत्र र मायाको चिनो प्रदान गरेर पुरस्कृत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हालै सार्वजनिक गरिएको आफ्नो कविता संग्रह ‘युद्ध युद्ध नै हुन्छ’ बाट एक कविता वाचन गरेर सुनाउनुभएको थियो ।
निगमको साहित्यिक उपसमितिका संयोजक एवम् क्वालिटी एस्योरेन्स विभागका प्रमुख पोषक ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा निगमका सबै विभागका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उपसमितिले प्रतियोगितामा वाचन गरिएका कविताहरुको मूल्यांकन गर्न वरिष्ठ साहित्यकार डा.नवराज लम्साल, प्रा.डा. देवि नेपाल र कल्पना काफ्ले रहेको निर्णायक मण्डल गठन गरेको थियो ।


















