मुम्बई(महाराष्ट्र,भारत), १९ आषाढ । बयालीस वर्षको उमेरमा मृत्यु भएकी भारतीय अभिनेत्री शेफाली जरीवालाको अचानक मृत्यु हुनुको कारण अझै थाहा हुन सकेको छैन।
उहाँको मृत्युको अनुसन्धान गरिरहेका केही प्रहरी अधिकारीहरूले शेफालीले ‘एन्टिएजिङ ट्याब्लेट’ सहित धेरै औषधिहरू सेवन गरिरहेको बताएका छन्। सम्भवतः खाली पेटमा यी औषधिहरू सेवन गरेका कारण उनको रक्तचाप अचानक घटेको हुन सक्छ।
समाचार एजेन्सी पीटीआईले एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै जुन २७ तारिख दिउँसो शेफालीले एउटा सुई लगाउनुभएको र सम्भवतः त्यो बुढ्यौली रोक्ने सुई भएको जनाएको थियो।
प्रहरी अधिकारीले भने, ‘उहाँको रक्तचाप द्रुत गतिमा घट्यो र जरिवाल काम्न थाल्नुभयो। यसपछि परिवारका सदस्यहरूले उहाँलाई अस्पताल लैजानुभयो।’
जुन २७ तारिखको राति शेफाली जरीवालालाई अन्धेरीको बेलभ्यू मल्टिस्पेशियालटी अस्पताल लगिएको थियो। त्यहाँ डाक्टरहरूले उहाँलाई मृत घोषित गरेका थिए।
त्यही रात १ बजे प्रहरीलाई जानकारी दिइयो र त्यसपछि उहाँको शव पोस्टमर्टमका लागि कूपर अस्पताल पठाइयो।
प्रहरीका अनुसार, “अम्बोली प्रहरीले अहिलेसम्म शेफालीका श्रीमान्, आमाबाबु र घरमा काम गर्ने कामदारसहित १० जनाको बयान लिइसकेको छ। त्यति बेला उहाँहरू सबै घरमै हुनुहुन्थ्यो। यद्यपि अहिलेसम्म केही शङ्कास्पद कुरा फेला परेको छैन। अनुसन्धानको क्रममा प्रहरीको टोली फरेन्सिक विज्ञहरूसहित उनीहरूको घरमा गयो र धेरै चिजहरूबाट नमुना सङ्कलन गर्यो। यसमा शेफालीको औषधि र इन्जेक्सनहरू पनि समावेश छन्।”
तर बीबीसीले शेफालीले साँच्चै नै एन्टिएजिङ ट्रिट्मेन्टु लिनुहुन्थ्यो वा हुँदैनथ्यो भन्ने चाहिँ पुष्टि गर्न सकेको छैन।
शेफाली जरीवालाको मृत्युपछि उमेरसँग सम्बन्धित शारीरिक परिवर्तनहरूलाई रोक्ने यस्ता उपचार विधिमा कस्ता जोखिमहरू जोडिएका हुन सक्छन् भन्ने बारेमा बहस तीव्र भएको छ।
हामी पनि यसबारे जान्ने प्रयास गरौँ।
प्रसिद्ध अभिनेत्रीहरूको भनाई
शेफाली जरीवालाको मृत्युपछि अभिनेत्री मल्लिका शेरावतले इन्स्टाग्राममा एउटा भिडिओ शेअर गर्दै आफ्ना फ्यानहरूलाई ‘स्वस्थ जीवनशैली’ अपनाउन सल्लाह दिनुभएको छ ।
उहाँले भन्नुभयो, “मैले कुनै फिल्टर प्रयोग गरेकी छैन, मेकअप गरेकी छैन, कपाल पनि बनाएकी छैन। म यो भिडिओ तपाईंहरू सबैसँग शेअर गर्दै छु ताकि हामीसँगै बोटोक्स, कृत्रिम कस्मेटिक फिलरहरूलाई अस्वीकार गर्न सकौँ र स्वस्थ जीवनशैलीलाई स्वीकार गर्न सकौँ।”
यसैबीच एउटा अन्तर्वार्तामा अभिनेत्री करीना कपूरले पनि ‘म बोटोक्सको विरुद्धमा छुु भन्नुभयो।’
त्यहाँ उहाँ बढ्दो उमेरसँगै अभिनेत्रीहरूका लागि बढ्दो चुनौतीहरूको बारेमा मात्र छलफल गरिरहनुभएको थियो। उहाँलाई के उहाँ पनि चाउरीपना र बुढ्यौलीसँग डराउँछिन् भनेर सोधिएको थियो।
यसबारे करीनाले भन्नुभयो, “म बोटोक्सको विरुद्धमा छु, तर हो, म आफ्नो ख्याल राख्ने पक्षमा छु। त्यसको अर्थ स्वस्थ रहनु, राम्रो महसुस गर्नु र प्राकृतिक उपचारहरू गर्नु हो। यो आफ्नो र आफ्नो प्रतिभाको संरक्षण गर्ने बारेमा पनि हो किनभने त्यो मेरो हतियार हो। यसको अर्थ बिदा मनाउनु, परिवार र साथीहरूसँग समय बिताउनु, सेटमा गर्नेभन्दा फरक काम गर्नु हो। सुई र शल्यक्रियामा संलग्न नहुनु हो।”
यद्यपि, यी दुवै अभिनेत्रीहरूले आफ्ना अभिव्यक्तिमा शेफाली जरीवालाको नाम उल्लेख गर्नुभएको छैन। तर उहाँको मृत्युपछि यी दुई अभिनेत्रीहरूको भनाइलाई यसैसँग जोडेर हेरिएको छ।
बुढ्यौलीविरुद्धको उपचार भनेको के हो ?
हाम्रो उमेर बढ्दै जाँदा अनुहारमा विभिन्न धर्सा र चाउरीपना देखा पर्न थाल्छन्। अनुहारको छाला पनि बिस्तारै झोलिन थाल्छ। तर यसलाई रोक्नका लागि आजकल ‘कस्मेटिक सर्जरी’, ‘इन्जेक्टेबल फिलर’, ‘बोटोक्स’ आदिको चलन बढेको छ।
बुढ्यौली विरुद्धको उपचार भनेको औषधि वा औषधि र यौगिकहरूको संयोजन हो, जसले बुढ्यौलीको प्रभावलाई कम गर्न मद्दत गर्दछ।
यीमध्ये सबैभन्दा लोकप्रिय बोटोक्स हो। यो एक शक्तिशाली सुई हो, जसले हाम्रो मांसपेशीलाई फुकाउँछ। बोटोक्स निधारको रेखा वा आँखावरिपरिको रेखा नाक वरिपरिको रेखा कम गर्न प्रयोग गर्न सकिन्छ।
आजभन्दा २० वर्षभन्दा पहिले अमेरिकाको औषधि नियमन निकाय (एफडीए) ले कस्मेटिक प्रक्रियाहरूमा यसको प्रयोगलाई अनुमोदन गरेको थियो।
द एस्थेटिक क्लिनिकका वरिष्ठ कस्मेटिक सर्जन डा. देवराज शोमले हिन्दी समाचार वेबसाइट ुद लल्लनटपुलाई ुडर्मल फिलरुहरू छालाभित्र दिइने इन्जेक्शनहरू भएको बताउनुभएको छ। उहाँका अनुसार हाम्रो छालाका कोषहरू जुन पदार्थबाट बनेका हुन्छन्, तिनीहरू पनि त्यही पदार्थबाट बनेका हुन्छन्।
उहाँका अनुसार छालामा ‘कोलजेन’ उमेरसँगै घट्न थाल्छ, तर ुफिलरुको मद्दतले यो फेरि थपिन्छ र अनुहार जवान देखिन थाल्छ।
धेरै मानिसहरू बुढ्यौली रोक्न ग्लुटाथायनको सुई पनि प्रयोग गर्छन्। यो एक एन्टिअक्सिडन्ट हो, जसले हाम्रो शरीरको कोषहरूलाई हुने क्षतिलाई रोक्न मद्दत गर्छ। यो सुई तथा चक्कीको स्वरूपमा दिइन्छ।
कैलाश अस्पतालको छाला विज्ञान विभागकी वरिष्ठ सल्लाहकार डा। अन्जु झा भन्नुहुन्छ, “हाम्रो शरीरमा ग्लुटाथायन पहिले नै हुन्छ। तर उमेर बढ्दै जाँदा शरीरले यसको उत्पादन बन्द गर्छ। त्यसैले यसलाई बाहिरी रूपमा लिइन्छ। ग्लुटाथायन लिने मानिसहरूको छालाको रङ्गमा केही सुधार हुन्छ भन्ने पनि विश्वास गरिन्छ। यदि यसलाई सुईका रूपमा लिइयो भने यसको नतिजा अझ राम्रो मानिन्छ। तर यसका केही अवाञ्छित असर (साइडइफेक्ट) पनि छन्। यो एफडीएद्वारा अनुमोदित छैन।”
यो उपचार कति सुरक्षित छ?
के यी फिलरहरू वा ग्लुटाथायनका सुईहरू यति खतरनाक हुन सक्छन् कि तिनीहरूले कसैको ज्यान नै लिन सक्छन्?
इन्डियन एक्स्प्रेससँग कुरा गर्दै दिल्लीको सर गङ्गाराम अस्पतालको छाला विज्ञान विभागका अध्यक्ष डा. ऋषि पराशर भन्नुहुन्छ, “केही अपवादबाहेक यस्ता सुईहरू अहिलेसम्म सुरक्षित साबित भएका छन्। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तिनीहरू दर्ता गरिएको छाला विशेषज्ञको निरीक्षणमा लिनुपर्छ।”
सोही समाचारमा यो पनि भनिएको छ कि सन् २०२४ को एप्रिलमा बोटोक्सको जोखिमबारे छलफल तीव्र भयो जब अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निकाय ९सीडीसी० ले २५ देखि ५९ वर्ष उमेरका २२ महिलाहरूमा बोटोक्सको हानिकारक असर देखिएको भन्दै चेतावनी जारी गरेको थियो।
यी मध्ये ११ जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो भने छ जनामा बोटोक्समार्फत् विषाक्त पदार्थहरू फैलिएर स्नायु प्रणालीसम्म पुगेका थिए। यो अवस्थाले मृत्यु पनि निम्त्याउन सक्छ।
यसबारे डा. पराशरले भन्नुभयो, “यी सबै महिलाहरूले स्वास्थ्य सेवा केन्द्रहरू पनि नभएका ठाउँहरूमा बिनाइजाजतपत्र वा अप्रशिक्षित व्यक्तिहरूबाट सुई लगाएको प्रमाणित भएको छ।”
यी औषधिहरूले निम्त्याउने जोखिमहरूबारे डा. अन्जु झा भन्नुहुन्छ, “एफडीएले ग्लुटाथायनलाई अनुमोदन गरेन किनभने यसको केही अवाञ्छित असर छन् भन्ने देखिएको थियो। यसले केही मानिसहरूमा गम्भीर खालको एलर्जी तथा अन्य रोग निम्त्याउन सक्छ। यी अवस्थामा मृत्युको सम्भावना हुन्छ। यद्यपि यो धेरै दुर्लभ छ।”
छालालाई गोरो बनाउन यी औषधिहरू प्रयोग गर्ने मानिसमा यो औषधि त्यति बेलासम्म मात्र प्रभावकारी हुन्छ, जबसम्म उनीहरूले यसलाई सेवन गरिरहेका हुन्छन् भन्ने उहाँको भनाइ छ। उहाँका अनुसार यसको प्रभाव सधैँ रहँदैन।
डा.अन्जु भन्नुहुन्छ, “तपाईंले कति औषधि लिइरहनुभएको छ र त्यो लिनुपर्छ कि पर्दैन भन्ने कुरा जान्नु धेरै महत्त्वपूर्ण छ। के यी औषधिहरूले अझ बढ्न सक्ने कुनै समस्या छ? यी सबैको लागि तपाईंलाई राम्रो छालारोगविशेषज्ञको सल्लाह चाहिन्छ।”
“यस (औषधि) ले हृदयाघात गराउन सक्दैन। तर कहिलेकाहीँ अत्यधिक मात्राको कारणले गर्दा यसले कलेजो र मिर्गौलालाई असर गर्न सक्छ। यसका यस्ता अप्रत्यक्ष प्रभावहरू छन्। त्यसैले यो उपचार विशेषज्ञमार्फत् गर्नु महत्त्वपूर्ण छ जसलाई कुन मांसपेशीमा सुई लगाउने र कति सुई लगाउने भन्ने थाहा छ। यो आफैँ नगर्नुस् वा पार्लरमा पनि नगर्नुस्। ज्ञान नभएको कुनै पनि डाक्टरबाट त गराउँदै नगराउनुस्।”


















