Prakash Adhikari July 3, 2025

काठमाडौँ, १९ असारः नेपाल उद्योग वाणिज्य महासङ्घ र मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी) बीच नेपाल–मलेसिया व्यापारिक सम्बन्ध विस्तार तथा लगानी र आसपी सहकार्यका विषयमा छलफल सम्पन्न भएको छ ।

आज महासङ्घ सचिवालय टेकुमा भएको छलफलमा दुवै पक्षबीच नेपाल–मलेसिया द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन, पर्यटन विस्तार, निर्माण, कृषि, ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रको विकासमा सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।

सो अवसरमा महासङ्घका पदाधिकारीहरूले नेपाल र मलेसियाबीच सहकार्य विस्तार गर्न सकिने सम्भावना र अवसरबारे जानकारी गराउनुभएको थियो । महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालले बिमस्टेक र सार्क जस्ता क्षेत्रीय सङ्गठनहरूमार्फत क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै मलेसियासँगको व्यापार घाटा कम गर्न नेपालले निर्यात वृद्धि र मलेसियाबाट थप लगानी भित्र्याउन चाहेको बताउनुभयो ।

उहाँले नेपाललाई एसियाली राष्ट्रहरूको आर्थिक समूह आसियानसँग जोड्न मलेसियाली निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । नेपालमा लगानीका लागि अनुकूल वातावरण रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले विदेशी लगानीलाई प्रोत्साहन गर्न नीतिगत सुधारहरू गरिरहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल सरकारले हालै आठ वटा लगानीसम्बन्धी ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाएको छ, द्विपक्षीय लगानी सम्झौताका लागि मन्त्रिपरिषद्ले ढाँचा स्वीकृत गरेको छ, यो अवस्थामा नेपालमा लगानी गर्न र सोको लागि सहजीकरण गर्न महासङ्घ तयार छ ।”

महासङ्घका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाल र मलेसियाबीच पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, मानव स्रोत र सूचना प्रविधिमा सहकार्यको सम्भावना रहको बताउनुभयो । महासङ्घका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल सरकारले लगानीसम्बन्धी विभिन्न ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्नुहुँदै मलेसियन व्यवसायीहरूलाई नेपालमा लगानी तथा व्यापार विस्तारका लागि सहयोग गर्न महासङ्घ सधैँ तयार रहेको बताउनुभयो ।

कार्यक्रममा मलेसिया–नेपाल व्यापार परिषद् (एमएनबीसी) का अध्यक्ष डाटो प्रदीपकुमार कुकरेजाको नेतृत्वमा आएको मलेसियन प्रतिनिधिमण्डल सहभागी भएको थियो । सो अवसरमा एमएनबीसीका अध्यक्ष डा कुकरेजाले नेपाल र मलेशियाबीच लगानी तथा व्यापारको पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

डा कुकरेजाले भन्नुभयो, “म नेपाल र मलेशियाबीच व्यापार तथा लगानीका थुप्रै सम्भावनाबारे अवगत छु । मलेसिशयाले पछिल्लो समय पूर्वाधार विकास, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा क्षेत्रमा थुप्रै प्रगति गरेको छ । यस विषयमा नेपालसँग सहकार्य हुनसक्छ । यहाँको सरकार र व्यवसायीहरुले चाहेमा आवश्यक सहजीकरणका लागि एमएनबीसी तयार छ ।”

सो अवसरमा नेपाली उद्योगी व्यवसायीहरुले मलेसियाली लगानीकर्ताहरूलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र रणनीतिक अवस्थितिको फाइदा उठाउँदै पर्यटन र पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको थियो ।

मलेसियन प्रतिनिधिले नेपालको पर्यटन क्षेत्रको सम्भावना र मलेसियाली प्रविधि तथा अनुभवलाई नेपालमा भित्र्याउन सकिने कुरामा जोड दिनुभएको थियो ।

Share Now