सिंहदरबार(काठमाडौं) ,१८ साउन (रासस) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।
बिहीबार काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि नपाएको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो। कांग्रेसले बैठक बहिष्कार गरेपछि पनि सभामुखले बैठकलाई निरन्तरता दिएको सम्बन्धमा पार्टीले थप गम्भीररूपमा लिएको जनाएको छ।
संसदीय दलको बैठकमा संविधानका मौलिक हक कार्यान्वयनका लागि बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल हुने उनले बताए।“सरकारले छिटोभन्दा छिटो मौलिक हकसम्बन्धी विधेयक सदनमा प्रस्तुत गरोस् भन्ने हामी चाहन्छौं, जनतालाई मौलिक अधिकार दिलाउन उक्त विधेयक संसदबाट शीघ्र पारित गर्नुपर्छ भन्नेमा कांग्रेसको ध्यान गएको छ” उनले भने।
बैठकमा संसदीय समिति गठनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । प्रतिनिधिसभाका १० विभिन्न विषयगत समितिमा रहने सांसदको नाम संसद्को बिहीबारको बैठकले अनुमोदन गरेको थियो। प्रतिनिधिसभाको बैठक शुक्रबार अपराह्न १ बजे बस्दैछ।


















