ढाका(बंगलादेश), ३ साउन । साफ यू २० महिला च्याम्पियनसिप अन्तरगत आज नेपालले भुटानसँग दोस्रो खेल खेल्दै छ।
आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।
भारी वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएका कारण खेलहरु बसुन्धरा स्पोर्ट्स मैदान भइरहेका छन् ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो ।
दोस्रो खेलमा नियमित समय र इन्जुरी समयको लामो समय बराबरीमा रहेको नेपालले बंगलादेशले अन्तिम मिनेटमा गोल गरेपछि ३-२ गोलअन्तरले पराजित भएको थियो ।
तेस्रो खेलमा नेपालले श्रीलंकालाई ७-० को गोलअन्तरले पराजित गर्यो भने चौथो खेलमा पनि श्रीश्रीलंकालाई ७ -० गोल अन्तरतले नै हरायो ।
आज नेपाल पाँचौ खेल भुटानसंग खेल्दै छ । आजको खेल जिते शीर्ष स्थानको दौड अझ प्रतिस्पर्धात्मक बन्नेछ।
डबल राउण्ड–रोबिन फर्म्याटमा भइरहेको यो खेलमा अंकतालिकामा शीर्ष स्थानमा रहने टीम विजेता बन्ने नियम छ ।
बंगलादेश अहिले सम्मका चार खेलमा अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा छ । उसले ४ खेलबाट १२ अंक बटुलेको छ । नेपालले चार खेलमा तीनमा विजय र एकमा पराजय ब्यहोरेकोले अंकतालिकामा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ। भुटानले एक खेल जितेर ३ अंक कमाएको छ भने श्रीलंकाले कुनै पनि खेल जित्न सकेको छैन ।
नेपालले आज भुटानलाई ठूलो गोल अन्तरले पराजित गरेमा गोलका आधारमा विजेता घोषणा गर्नुपर्ने अवस्था आउदा त्यसको लाभ नेपाललाई हुने छ । नेपालले यसपछि जुलाई २१ मा फेरि बंगलादेशसंग भिड्नु पर्ने छ । यस अगाडिको खेलमा नियमित ९० मिनेट र इन्जुरीको अधिकांश समय बराबरीमा रहेको नेपाललाई समयले साथ नदिदा इन्जुरी समयको अन्तिममा बंगलादेशले गोल गरेर शीर्षस्थानमा पुग्नबाट रोकेको थियो ।
आउदो खेलमा नेपालले त्यसको बदला लिने ठानिएको छ । बंगाली खेलाडीहरु डी बक्स एरियामा बल लगेर गोल हान्न सिपालु रहेका छन् । नेपाली गोलकिपर डी बक्समा बल आएपछि होपलेस देखिने र त्यसको फाइदा बंगालादेशी खेलाडीले लिइएको पाइएको छ । श्रीलंकासंगको दोस्रो खेलमा नेपाली खेलाडीहरुले पनि डी बक्समा बल लगेर गोल गर्ने कला सिकेका छन् । बंगलादेशलाई डी बक्समा बल लैजान रोक्न सके भने नेपाली चेलीहरुले बंगलादेशलाई पराजित गर्नेमा कुनै सन्देह छैन् ।
आज भुटानलाई सहजै पराजित गर्ने मनस्थितिमा नेपाली टिम रहेको छ ।


















