Prakash Adhikari July 22, 2025

खुमलटार(ललितपुर), ६ साउन । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा बजार सुधारका लागि नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एण्ड क्लियरिङको पुनर्संरचना गर्ने लगायतका नीतिगत प्रतिबद्धता जनाइएको छ । यस्तै, धितोपत्र बजार तथा वस्तु विनिमय सम्बन्धी कानुनी व्यवस्थालाई अन्तर्राष्ट्रिय सिद्धान्त तथा मापदण्ड अनुरुप बनाई कानुनी व्यवस्थाको सवलीकरण गर्ने, नेपाल धितोपत्र बोर्ड तथा धितोपत्र बजार सम्बन्धि सेवा प्रदायकको संस्थागत सुदृढीकरण र संरचनात्मक सुधार तथा क्षमता अभिवृद्धिलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ ।

नयाँ नीति तथा कार्यक्रमले संस्थागत सुदृढीकरणका साथै नियमन र सुपरिवेक्षणमा सुधार, क्षेत्रगत विविधता तथा धितोपत्र औजारमा विविधिकरण, जोखिम न्युनीकरण, सूचना प्रविधि पूर्वाधारको विकास र प्रयोगमा जोड, लगानीकर्तामा साक्षरता अभिवृद्धि लगायतका विषय समेटेको छ ।

साना तथा मझौला उद्योगको धितोपत्र निष्कासन, कारोबारका लागि छुट्टै एमएमई प्लाटफर्म चालु आर्थिक भित्रै सञ्चालनमा ल्याउने जनाएको बोर्डले कमोडिटी बजार सञ्चालनमा ल्याई विश्वसनीय र पारदर्शी बनाउने र वित्तीय क्षेत्रका अन्य नियामक निकायबीच समन्वय कायम गर्दै बोर्डका कार्यलाई उच्च प्रविधिमैत्री बनाउने घोषणा गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘अटोमेटेड मार्केट सर्भिलेन्स सिस्टम’ विकास तथा खरिद गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।

गैरआवासीय नेपालीलाई नागरिकताका आधारमा दोस्रो बजारमा लगानीको व्यवस्था मिलाउने प्रतिबद्धता नीति तथा कार्यक्रममा जनाइएको छ । इन्ट्रा डे कारोबार, सेक्युरिटिज लेन्डिङ एण्ड बरोइङ सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था गर्ने, अक्सन मार्केटलाई व्यवस्थित गर्ने, दोस्रो बजारमा कारोबारयोग्य औजारहरुको विविधिकरणका लागि डेरिभेटिभ्स औजारको संचालन गर्न आवश्यक अध्ययन गर्ने, गराउने लगायतका योजना नीति तथा कार्यक्रममार्फत बोर्डले अघि सारेको छ ।

Share Now