माले(माल्दिभ्स), ७ साउन । काभा च्याम्पियन्स लिग २०२५ अन्तरगत मंगलबार बेलुका माल्दिभ्सको राजधानी मालेमा भएको खेलमा नेपाल धेरै खेल जितेर पनि फाइनल पुग्न असमर्थ भएको छ । नेपालले आज श्रीलंकासंग तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छ ।
नेपाली लिग च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लबले मंगलवार राति भएको खेलमा श्रीलंकाको पोर्टस् अथोरिटीलाइ ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
यो विजयसंगै नेपालले चार खेलमा विजय हासिल गर्दै आफ्नो कूल अंक ११ पुर्यायो ।
यता किर्गीस्तानको ब्रिस्केक र कजाकस्तानको जायक क्लबबीच भएको खेलमा काजकस्तानको जायकले खेल जितेर अंक १४ पुर्याउदै शीर्षस्थान हासिल गर्यो भने किर्गिस्तानको ब्रिश्केक ११ अंकमा नै सीमित रह्यो ।
अंक बराबर भएको अवस्थामा सेटमा हारको संख्या पनि महत्वपूर्ण हुँदो रहेछ । यस्तो अवस्थामा जितेको सेटलाई हारेको सेटले भाग गर्दा जसको भागफल धेरै आउछ उही चयन हुने नियम रहेछ । जम्मा ६ टिम सहभागी भएको खेलमा नेपालले पाँच टिमसंग खेल्दा १४ सेट जितेर ८ सेट हारेको थियो । ब्रिश्केकले १२ सेट जितेर ६ सेट हारेको थियो । त्यसैले नतिजा ब्रिश्केकको पक्षमा गयो ।
अंकतालिकामा पहिलो र दोस्रो हुनेले फाइनल खेल्ने र तेस्रो र चौथो हुनेले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने नियम छ । यो नियम अनुसार नेपालले आज पनि हिजो आफूले ३-० को सोझो सेटमा पराजित गरेको श्रीलंका पोर्ट अथोरिटीसंग प्रतिस्पर्धा गर्ने भएको हो ।
नतिजा फाइनलमा पुग्न अवरोध सिर्जना हुने ढंगको आएपछि हेल्प नेपाल स्पोर्टस् क्बले दुःखासाथ सामाजिक सञ्जालमा लेखेको थियो, “कुशल कर्म गरेरमात्र नहुँदो रहेछ१ कहिलेकाहीँ भाग्यले पनि साथ दिनु पर्ने रहेछ । बराबर अंक हुँदा पनि बढी सेट जित्दा पनि झिनो भन्दा झिनो अन्तरले फाइनल पुग्न चुक्यौ । यस यात्रामा साथ दिनुहुने सम्मपुर्णमा हृदय देखि नै नमन ।”
आज नेपालले अपरान्ह १६ः १५मा श्रीलंका पोर्ट अथोरिटीसंग तेस्रो स्थानको लागि खेल्दै छ ।
उपाधिका लागि किर्गीस्तानको ब्रिश्केक र कजाकास्तानको जायन क्लबका बीच बेलुका २०ः३० बजे प्रतिस्पर्धा हुने छ ।


















