गण्डकी, १२ साउनः सिन्धुलीबाट सम्पर्कविहीन भएका उर्मिला हायुको परिवारका सबै सदस्य पोखरामा भेटिएका छन् । पोखरा महानगरपालिका(३० गगनगौँडाका दुई घरमा बसिरहेको अवस्थामा उहाँहरू भेटिनुभएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो ।
सम्पर्कविहीन रहेका १६ जनाकै नाम रूजु भएको जनाउँदै उहाँले उहाँहरू सकुशल रहेका बताउनुभयो । उहाँहरू सिन्धुलीबाट पोखरा किन र कसरी आउनुभयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिखर कटेरी छेत्पाबाट एउटै परिवारका १६ जना सदस्य छरछिमेकीलाई केही नभनी घर उघारै छोडेर हिडेको भेटिएको थियो ।
पछि गाउँलेहरुले खोजीनीति गर्दा भान्छाघरमा आगलागी भएको र पशुपन्छिहरु भोकै रहेको पाइएको थियो ।
५२ वर्षीया उर्मिला हायूको परिवारका सबै सदस्यहरू शनिबार बेलुका इभी गाडी रिर्जभ गरेर पोखरा घुम्न गएको भन्ने सूचना प्राप्त भएको सिन्धुली प्रहरीले जनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार सोमवार दिनभरको खोजीपछि सबैजना प्रहरीको सम्पर्कमा आएका हुन् ।


















