थिम्पु(भुटान), २१ साउन । एएफसी यु २० महिला एसियन कप अन्तरगत आजदेखि हुने प्रतियोगितामा नेपाली टोलीले आज आयोजक भुटानी टोलीसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
थिम्पुमा आज साउन २१ (अगस्ट ६) देखि साउन २५(अगष्ट १०) सम्म हुने एएफसी यु २० महिला एसियन कप छनोटमा नेपालले समुह ‘ए’ मा आयोजक भुटानसँगै साउदी अरेबिया र सशक्त राष्ट्र उत्तर कोरियासँग खेल्नेछ।
केही समय पहिले बंगलादेशमा भएको साफ यु २० मा नेपालले भुटानलाई ६-१ र ८-० ले हराएको थियो।
नेपालले बंगलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिपको उपविजेता टोलीमा रहेकी झुमा विश्वकर्मालाई बाहेक सबै निरन्तरता दिएको छ। झुमाको ठाउँमा अहिले सजिना स्याङ्तानलाई टोलीमा समेटिएको छ ।
नेपाली युवा टोलीमा लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर रहेका छन् ।
प्रशिक्षक यामप्रसाद गुरुङ एएफसी यु २० महिला एसियन कपमा नेपाल छनोट हुनेमा विश्वस्त छन् । कप्तान बिर्सना चौधरीले मिड र फरवार्डमा नेपाल बलियो पक्ष भएको बताइन्। भुटान नेपालले बंगलादेशमा पराजित गरिसकेको हो भने साउदी अरब भुटानले नै पराजित गरेको टिम हो । नेपालले अनुमान गर्न कठिन भनेको उत्तर कोरियाको टिम हो। उत्तर कोरिया दुईपल्टको एसियन कप विजेता हो। तर प्रशिक्षक गुरुङ आफ्नो रणनीति र खेलाडीहरूको प्रदर्शनमा ढुक्क छन्। उनले हालै बंगलादेशमा सम्पन्न साफ खेलमा देखिएका कमजोरीहरु यसपटकको क्याम्पमा सुधार गरेकोले अहिले नेपाली टिमको प्रदर्शन अब्बल हुने दाबी गरेका छन् ।
भुटानको मैदान र त्यहाँको हावापानीसंग अभ्यस्त हुन नेपाली यु २० टोली साउन १५ गते नै राजधानी थिम्पु आइसकेको छ । थिम्पुको मैदानमा नेपाली खेलाडीहरुले दैनिक नियमित प्रशिक्षण गरेर आफूलाई फिट एण्ड फाइन राखिरहेका छन् ।
छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ। ३२ राष्ट्रको सहभागीता रहेको छनोटमा ८ समूह रहेका छन् ।
हरेक समूहका विजेता ८ टोली तथा उत्कृष्ट ३ उपविजेता टोलीले आगामी वर्ष थाइल्याण्डमा हुने यु २० एसिया कपमा स्थान बनाउनेछ ।


















