Prakash Adhikari August 6, 2025
तुर्कमेनिस्तान, २१ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गर्नुभएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीलाई भेट गर्नुभएको हो ।
भेटमा सहभागी संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार भेटका अवसरमा नेपालले आगामी सन् २०२६ मा आफूलाई विकासशील मुलुकका स्तरोन्नतिमा लान गर्नुपर्ने तयारीलाई थप गति दिने विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्थायी प्रतिनिधि थापालगायत सहभागी हुनुहुन्थ्यो ।
लगानी प्रवर्द्धनसम्बन्धी महासङ्घका कार्यकारी निर्देशकको भेट
 प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व महासङ्घ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहिले आज शिष्टाचार भेट गर्नुभएको छ ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरूबीच साइडलाइन भेट भएको हो । भेटका अवसरमा नेपालमा लगानी अभिवृद्धिको सम्भावना र नेपालको लगानी प्रवर्द्धन बोर्डले महासङ्घको सदस्यता लिनेलगायत विषयमा छलफल भएको भेटमा सहभागी संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्थायी प्रतिनिधि थापालगायत सहभागी हुनुहुन्थ्यो ।
Share Now