डार्विन(अष्ट्रेलिया), ३० साउनः अस्ट्रेलियाको डार्विनमा सञ्चालन भइरहेको टप एण्ड टी–२० सिरिजमा अष्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राइकरले नेपालसमक्ष १ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आफ्नो पहिलो खेलमा नेपालले टस जितेर फिल्डिड. रोजेको थियो । ब्याटिड.को निम्तो पाएको अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरले २० ओभरको निर्धारित खेलमा ८ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो ।
एनटीका लागि कप्तान तथा ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै टम एन्ड्रयुजले अविजित ३२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिए । शाहब आलमले ३२ रन दिएर २ विकेट तथा गुल्शन झा, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले १-१ विकेट लिए ।
एनटी स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो ।
२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।
नेपालले यसपछि बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहितसँगै विकेट किपर आसिफ शेख, लोकेस बम, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, रुपेश सिह, सोमपाल कामी, सन्दीप लामिछाने र शाहब आलम छन् ।


















