काठमाडौं, १ भाद्र । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०८१र८२ मा उल्लेखनीय नाफा वृद्धि गरेको छ । बैंकले एकै वर्षमा ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा ६४.४३ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ४ अर्ब १० करोड ८८ लाख रुपैयाँ थियो । यस वर्षको वित्तीय विवरणअनुसार बैंकको सञ्चालन नाफा पनि १० अर्ब १४ करोड रुपैयाँ नाघेको छ, जुन गत वर्षको तुलनामा ५८.६६ प्रतिशत वृद्धि हो ।
बैंकले गत वर्ष १४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी ब्याज आम्दानी गरेको छ । यद्यपि, अघिल्लो वर्ष यो रकम १५ अर्ब ११ करोड रुपैयाँभन्दा माथि थियो । वितरणयोग्य नाफा पनि ऋणात्मक अवस्थाबाट सुधार हुँदै ४९ करोड १३ लाख रुपैयाँमा पुगेको छ, जसका आधारमा बैंकले यस वर्ष १.३३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।
व्यापार विस्तारमा आक्रामक देखिएको बैंकको निक्षेप १७ प्रतिशत र कर्जा लगानी १८ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म कुल निक्षेप ४ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३ खर्ब २६ अर्ब रुपैयाँ नाघेको छ ।
हाल बैंकसँग ५.८५ प्रतिशत खराब कर्जा छ, जुन अघिल्लो वर्षको ४.९१ प्रतिशतभन्दा बढी हो । बैंकको प्रतिसेयर आम्दानी १९.८० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ छ भने जगेडा कोषमा ३२ अर्ब ७४ करोड रुपैयाँ संचित भएको छ ।


















