काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका लागि स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताउँदै त्यसका लागि बढीभन्दा बढी योग्य चिकित्सकको आवश्यकता पर्ने उल्लेख गर्नुभएको छ ।
प्रजातन्त्रवादी चिकित्सक सङ्घद्वारा शुक्रवार यहाँ आयोजित वार्षिक भेलालाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रका लागि चिकित्सक नभई नहुने र चिकित्सकको आवश्यकता सबै ठाउँमा रहेको बताउनुभयो ।
सभापति देउवाले भन्नुभयो, “नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा उल्लेख गरेको छ, सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन पनि बढीभन्दा बढी चिकित्सक उत्पादन गर्नुपर्छ ।” उहाँले बहुदलीय व्यवस्था पुनःस्थापनापछि कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले सबै गाविसमा स्वास्थ्य चौकीको व्यवस्था गरेको जानकारी गराउँदै मुलुकका दुर्गम क्षेत्रमा अझै गुणस्तरीय स्वाथ्य सेवा पुग्न नसकेको उल्लेख गर्नुभयो ।
चिकित्सक विदेश पलायन भए जस्तै विरामी पनि उपचारका लागि विदेशिनबाट रोक्न अन्तर्राष्ट्रिस्तरको स्वास्थ्य सेवा पुरयाउनुपर्ने र नेपाललाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिने उहाँको धारणा थियो । सभापति देउवाले सरकारले स्वास्थ्य र शिक्षालाई महत्व दिएको उल्लेख गर्दै दुबै विषय सबै नागरिकका लागि जरुरी भएको र यी क्षेत्रमा अझै धरै काम गर्नुपर्नेमा जोड दिनुभयो ।
चिकित्सकका माग पूरा गर्नुपर्छ
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पुरा गर्नुपर्ने बताउनुभएको थियो ।
प्रजातन्त्रवादी चिकित्सक सङ्घको वार्षिक भेलाको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘स्वास्थ्य सेवा, पार्टी नेतृत्व र राष्ट्रिय प्रगतिका लागि एकीकृत कदम’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
“सेवा सुविधा थप गर्ने भन्ने वित्तिकै अर्थतन्त्रसँग जोडिन्छ, देशको अर्थतन्त्र वृद्धि गर्ने थुप्रै क्षेत्र रहेको छ, त्यतातिर लागौँ, उहाँहरुको सेवा सुविधा बढाउन तिर लागौँ,” पूर्वमन्त्रीसमेत रहनुभएका उहाँको भनाइ थियो ।
घरेलु मदिरालगायतलाई कर दायरामा ल्याउन सके अहिले बजेटमा रु छ खर्ब थप गर्न सकिने भन्दै आफू कानुनमन्त्री हुँदा पटकपटक कानुन बनाउन प्रयास गरेपनि सफल हुन नसकेको बताउनुभयो । “म कानुनमन्त्री हुँदा घरेलु मदिरालगायत थुप्रै क्षेत्रलाई करका दायरामा ल्याएर देशको अर्थतन्त्र बलियो बनाउन पटकपटक लागेँ तर सफल हुन सकिन,” उहाँको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले आधारभूत स्वास्थ्यसेवा प्रभावकारी बनाउने र देशभित्रै विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गरेर स्वास्थ्य जनशक्तिको पलायन पनि रोक्ने र स्वास्थ्य उपचारमा विदेशिन नपर्ने अवस्था सिर्जना गर्न सरकार लागि गरेको पनि बताउनुभयो ।


















