काठमाडौं, १४ भाद्र। कप्तान रोहित पौडेलको अविजित शतकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको एक दिवसीय खेल दुई विकेटले जितेको छ ।
शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १ सय १ रन बनाए । १ सय ६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे । सोमपाल ३८ रनमा अविजित रहे ।
त्यसभन्दा पहिले ७४ रनमा ५ विकेट गुमाएपछि रोहितलाई गुल्शनले साथ दिएका थिए । गुल्शनले ३६ रन बनाएर आउट हुँदा नेपाल १५७(६ को अवस्थामा थियो र त्यसपछि १६१/८ को अवस्थामा पुगेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २ सय ४२ रनमा अलआउट हुँदै नेपाललाई २ सय ४३ रनको लक्ष्य दिएको हो ।
साउथ अस्ट्रेलियाका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने दुवित हूगानबोजमले ५३ रन बनाए । रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए ।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १/१ विकेट लिए ।
टप एन्ड टी-२० सिरिज समाप्त भएपछि भएको अभ्यास टी-२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराउँदा नेपाली राष्ट्रिय टोली साउथ अष्ट्रेलियासँग भने पराजित भएको थियो ।
टप एन्ड टी २० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।


















