थियानजिन (चीन), १४ भदौः प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ ।
शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता भएको हो ।
अतिथिगृहमा दुवै देशका शीर्ष नेतासहित उच्चस्तरीय प्रतिनिधिमण्डलको वार्ता भएको थियो ।
भेटवार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री ओली, शिक्षा मन्त्री रघुजी पन्त,पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडा,परराष्ट्रसचिव अमृतकुमार राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली लगायत हुनुहुन्थ्यो ।
प्रतिनिधि मण्डलस्तरीय वार्तामा चिनिया टोलीको नेतृत्व राष्ट्रपति सिजिनफिड.ले गर्नुभएको थियो । टोलीमा परराष्ट्रमन्त्री याड.यीसहित उच्चपदस्द व्यक्तिहरु सम्मिलित हुनुहुन्थ्यो ।
भेटमा सांघाई कोअपरेशन अर्गनाइजेशनको स्थापनाको आवश्यकता,यसले गरेका कामका साथै सदस्य राष्ट्रहरुको भूमिकाका साथै नेपाल र चीनका आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।
भेटवार्तामा दुवै देशका नेताहरुले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्धको चर्चा गर्दै कायम रहेको सुमधुर सम्बन्ध अझ प्रगाढ र फलदायी बनाउने विचार व्यक्त गर्नुभएको थियो ।

त्यसअघि उहाँले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गर्नुभएको थियोे ।
राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा २६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यहाँ आइपुग्नुभएको हो ।
उहाँलाई थियानजिन विनहाइ अन्तरराष्ट्रिय विमानस्थलमा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङ,चीनको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।