Prakash Adhikari September 8, 2025

काठमाडौं, २३ भाद्र । नेपालमा सरकारले सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममाथि प्रतिबन्ध लगाएपछि सुरु भएको विरोधप्रदर्शनमा प्रहरीले गोली प्रहार गरेपछि सोमवार दिउँसो साढे ३ बजेसम्म काठमाडौंमा ९ जनाको मृत्यु भएको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा दुई जनाको मृत्यु भएको त्यसका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले जानकारी दिनुभएको छ।

महाङ्कालस्थाननजिकै रहेको ट्रमा सेन्टरमा दुई जनालाई मृतावस्थामा ल्याइएको उक्त अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले पुष्टि गर्नुभयो।

“तीस जनाभन्दा धेरै घाइतेलाई ट्रमा सेन्टरमा ल्याइपुर्‍याइको छ। दुई जनाको यहाँ पुर्‍याउँदा नै मृत्यु भइसकेको थियो”, डा रिजालले भन्नुभयो । उहाँका अनुसार केही घाइतेको अवस्था चिन्ताजनक छ।

यसअघि निजामती कर्मचारी अस्पतालका मेडिकल निर्देशक दीपक पौडेलले उक्त अस्पतालमा मात्रै १०० जनाभन्दा धेरै घाइतेलाई ल्याइएको बताउनुभएको थियो । उहाँका अनुसार धेरै घाइतेहरूलाई रबरको गोली लागेको छ।

घाइतेको सङ्ख्या धान्न नसकिने गरी अत्यधिक भएको भन्दै सिभिल अस्पतालले केही घाइतेलाई अन्य अस्पताल पठाएको छ। प्रहरीले अधिकांश घाइतेहरूलाई निजामती कर्मचारी (सिभिल) अस्पताल र वीर अस्पताल पुर्‍याइएको बताएको छ।

सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा पनि कैयौँ घाइतेहरूलाई लगिएको छ। तीमध्ये केही गम्भीर अवस्थामा भएको अस्पतालस्थित सूत्रले जनाएको छ।

प्रहरी के भन्छ?

“कति जना घाइते भएका छन् भन्ने विवरण सङ्कलन भइरहेको छ। सुरक्षा निकाय र प्रदर्शनकारी दुवैतर्फ मानिसहरू घाइते भएका छन्”, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले भन्नुभयो।

सरकारले केही चल्तीका सामाजिक सञ्जालको पहुँचमा लगाएको प्रतिबन्ध र राजनीतिक भ्रष्टाचारको विरोधमा आफूलाई जेन जी भनेर चिनाउने विशेष गरी नवयुवा पुस्ताका प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरेका छन्।

र्‍यालीका क्रममा झडपहरू भएपछि काठमाडौंमा स्थानीय प्रशासनले संसद् भवन परिसर वरपरका ठाउँ लगायत विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ।

बिहान देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारनजिकै माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू नयाँबानेश्वरस्थित संसद् भवनतिर गएका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाण्डूका प्रवक्ता मुक्तिराम रिजालले भन्नुभयो, “हामीले १२ः३० बजे जारी भएको कर्फ्यू विस्तार गरेका छौँ। अब राति १० बजेसम्मका लागि राष्ट्रपति निवास शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय, नारायणहिटी दरबार सङ्ग्रहालय र बानेश्वर संसद् भवन आसपासको क्षेत्रमा कर्फ्यू लागेको छ।”

प्रदर्शनकारीहरू संसद् भवन परिसरमा प्रवेश गरेपछि सोमवार दिउँसोका लागि तय भएको राष्ट्रिय सभाको बैठक बुधवारका लागि सारिएको बताइएको छ।

‘विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकोले’ बैठक स्थगित गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ।

सेनाको टुकडी सडकमा

स्थानीय प्रशासनले कर्फ्यूको घोषणा गरेलगत्तै काठमाडौंको सडकमा नेपाली सेनाको टुकडी तैनाथ भएको देखिएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले स्थानीय प्रशासन ऐन २०२८ मा भएको व्यवस्था बमोजिम जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेना खटिएको बताउनुभयो।

उहाँले थप्नुभयो, “शान्ति सुरक्षामा खटिने निर्णय लिखित रूपमा प्राप्त भएपछि सानो टुकडी शान्ति सुव्यवस्था कायम गर्न तैनाथ भएको छ।”

कर्फ्यू किन

रिजालका अनुसार शान्तिपूर्ण प्रदर्शन अराजक बन्दै गएको र निषेधित क्षेत्र तोडिएकाले उक्त निर्णय लिइएको हो।

अधिकारीहरूले केही प्रदर्शनकारीहरू संसद् भवन परिसरभित्र पनि प्रवेश गरेको दाबी गरेका छन्।

“त्यस क्रममा सामान्य बल प्रयोग भएको छ। हामीले तत्कालै केही जनालाई नियन्त्रणमा लिएका छौँ ” रिजालले भन्नुभयो।

उहाँका अनुसार प्रदर्शनमा सहभागी भएका वा पक्राउ परेकाहरूको यकिन सङ्ख्या आउन बाँकी रहेको छ।

यसअघि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गर्ने निर्णयसहित विज्ञप्ति जारी गर्नुभएको थियो।

अभियान आरम्भ गर्नेहरूले भर्खरै प्रतिबन्धित केही प्ल्याट्फर्म र टिकटकजस्ता अन्य वैकल्पिक डिजिटल मञ्चमार्फत् देशमा विद्यमान राजनीतिक भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी युवा पुस्तालाई आह्वान गरेका थिए।

टिकटकमा विभिन्न नेताका छोराछोरीको विलासी जीवन झल्काउने तस्बिर तथा भिडिओ राखेर केही युवाले लाभको पदमा पुगेका नेताहरूले स्वार्थपूर्वक आफ्ना सन्तानलाई फाइदा पुर्‍याएको तर देशका लागि काम नगरेको भन्ने आशयसहित नेपो बेवी ट्रेन्ड सुरु गरेका छन्।

त्यस्ता सामग्रीमा नेपालका विकट क्षेत्रमा कष्टकर जीवन बिताइरहेका मानिसहरूको अवस्थासँग राजनीतिक परिवारको विलासी जीवनलाई तुलना गरिएको छ।

बिहीवार सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै युवाहरूले सामाजिक सञ्जालकै माध्यमबाट त्यसप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्न थालेका थिए।

देशैभरि प्रहरीको निगरानी

सोमवार बिहान काठमाडौं र बाहिरका प्रमुख सहरहरूमा पनि विरोधप्रदर्शन भइरहेको र प्रहरीले त्यसलाई निगरानी गरिरहेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले बताउनुभएको छ।

“यो काठमाडौं उपत्यकामा मात्रै छैन। बाहिर पनि भएकाले जुनजुन ठाउँमा छ सम्बन्धित जिल्ला सुरक्षा समिति बसेर सुरक्षा चुनौतीको विश्लेषण गरेर आवश्यक सुरक्षा योजना तयार गरेर जनशक्ति परिचालन गरिएको छ”, घिमिरेले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो ।

युवाहरूको सोमवारको प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि प्रहरी प्रवक्ताले आफूहरूले त्यसलाई सामान्य रूपमा नलिने बताएका छन्।

“जेन जीुको प्रदर्शनमा काठमाडौं महानगरपालिकामा मेअर बालेन शाहसहित कैयौँ राजनीतिज्ञ, चर्चित कलाकार र गायकगायिकाले पनि ऐक्यबद्धता व्यक्त गरेका छन्।

गायक तथा कलाकार प्रकाश सपूतले सामाजिक सञ्जालमार्फत् समर्थन व्यक्त गर्नुभएको छ।

“…..यसपालि उनीहरूलाई जेन जीको साङ्केतिक प्रदर्शनले गहिरो महसुस होस् कि समय धेरै अगाडि गइसकेछ। आजको गतिशील दुनियाँमा हामी र हाम्रो देशलाई कति पछाडि पारिसकेछौँ”, उहाँले फेसबुकमा लेख्नुभएको छ।

अवस्था बदल्न सडकमा

काठमाडौंको माइतीघरमा पुगेका बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालका अनुसार प्रदर्शनमा सहभागी हुनेमध्ये अधिकांश माध्यमिक तहका विद्यार्थीहरू छन्।

उनीहरूले राष्ट्रिय झण्डा बोकेका छन् र ‘अब अति भयो’, ‘भ्रष्टाचारलाई अस्वीकार गरौू’जस्ता नारा लेखिएका प्लाकार्ड बोकेका छन्।

उनीहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा नारा समेत लगाएका छन्।

काठमाण्डू उपत्यकामा युवाहरूको अगुवाइमा भएको प्रदर्शन अहिलेसम्मकै ठूलो देखिएको छ। उनीहरूले देशको अवस्था बदल्न आफूहरू सडकमा आएको बताएका छन्।

बाङ्ग्लादेशमा विद्यार्थीहरूले ल्याएको राजनीतिक परिवर्तनको उदाहरण दिँदै उनीहरूले नेपालमा पनि युवाहरूको प्रदर्शनले त्यस्तै किसिमको अवस्था ल्याउन सक्ने बताएका छन्।

देशैभरि युवाहरूको प्रदर्शन

बुटवलको राजमार्ग चौराहामा भेला भएका युवाहरू भ्रष्ट्राचार विरोधमा नाराबाजी गर्दै ट्राफिकचोकसम्म पुगेका थिए।

उनीहरूले ‘आज होइन भने कहिले?’ हामी होइन भने को?’ ‘अब पालो युवाहरूको’ जस्ता नारा अङ्कित प्लाकार्डहरू पनि बोकेका छन्।

बुटवलको प्रदर्शनमा युवाहरूको राम्रै सङ्ख्यामा सहभागिता रहेको देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडि र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि युवाहरूले भ्रष्टाचार र बेतिथीविरुद्धका नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गरेका छन्।

वीरगन्जको घण्टाघर क्षेत्रमा युवाहरूले सरकारको निर्णयविरुद्ध विरोधसभा गरे। सामाजिक सञ्जाल बन्द गर्ने र भ्रष्टाचार बढेको भन्दै उनीहरूले सरकारप्रति आक्रोश पोखेका छन्।

विरोधर्‍यालीमा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो।

सहभागीहरूले ‘भ्रष्टाचार अन्त्य गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए। उनीहरूले भ्रष्टाचार र कुशासन दिन प्रतिदिन बढ्दै गएको भन्दै सरकार जनताप्रति गम्भीर हुनुपर्ने माग गरेका छन्।

युवाहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको दाबी गर्दै सो निर्णय तत्काल फिर्ता लिन आग्रह समेत गरेका छन् ।

वीरगन्जको घण्टाघर क्षेत्रमा युवाहरूको प्रदर्शनतस्बिर स्रोत,द्यद्यऋ र ःबमजगचष् ःबजबतय
विराटनगरको सन्सारीमाइस्थानमा भेला भएर युवाहरूले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोध गरेका थिए। विरोधर्‍यालीमा कलेजमा अध्ययनरत विद्यार्थी धेरै थिए।

उनीहरूले भ्रष्टाचार र कुशासन बढेको भन्दै सरकारविरोधी नारा पनि लाएका थिए।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि युवाहरूले प्रदर्शन गरेका छन्।

बसपार्क बागबजारदेखि सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालय पुगेर फेरि बागबजार नै फर्किएको छ।

Share Now