काठमाडौं, २४ भाद्र । सोमवार जेन जी अर्थात् युवा पुस्ताले गरेको सडक आन्दोलनका क्रममा काठमाण्डूमा १७ सहित कम्तीमा १९ जनाको मृत्यु भएपछि काठमाडौं जिल्ला प्रशासनले काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र बिहान साढे ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको जनाएको छ।
त्यसैगरी ललितपुर जिल्ला प्रशासनले समेत ललितपुर महानगरपालिकाका वडा नम्बर २, ४, ९, १८, २५ मा समेत बिहान ७ बजेदेखि मध्यरातसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। ती भैँसेपाटी, इन्द्रायणी मार्ग आसपास र च्यासल क्षेत्र आसपास पर्छन्।
यसैबीच सरकारले सामाजिक सञ्जालहरूमा लगाएको प्रतिबन्ध फुकुवा गरेको सरकारका प्रवक्तालाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
केही सामाजिक सञ्जालहरू क्रमशः चल्न थाले पनि अधिकारीहरूले औपचारिक रूपमा त्यसबारे केही जनाएका छन्।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एक विज्ञप्तिमार्फत् घुसपैठियाहरूले तोडफोड र आगजनी गरेपछि सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नुपर्ने स्थिति उत्पन्न भएको बताउनुभएको छ।
“राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचीकरण गरी व्यवस्थित रूपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन-जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो”,प्रधानमन्त्री ओलीद्धारा सोमवार अबेर जारी गरेको विज्ञप्तिमा भनिएको छ।
“सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्नेछ।”
उक्त घटनापछि गृहमन्त्रीले राजीनामा दिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सोमवार राति पत्रकारहरूलाई बताउनुभएको थियो।
तर विपक्षी दलहरूसहित धेरैतिरबाट प्रधानमन्त्री केपी शर्मा ओलीको समेत राजीनामा माग भइरहँदा सोमवार राति मन्त्री गुरुङले ूसडकमा बसेर राजीनामा मागेर नहुनेू भन्दै प्रधानमन्त्री ओलीले अहिले राजीनामा नदिने बताउनुभयो।
नेपालमा राजनीतिक भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममाथि लगाएको प्रतिबन्धको विरोधमा युवा पुस्ताले गरेको सडक आन्दोलनका क्रममा प्रहरीले घातक बल प्रयोग गर्दा शान्तिपूर्ण भनिएको सोमवारको आन्दोलन हिंस्रक बन्न पुगेको थियो।



















