काठमाडौं, २५ भाद्र । जेन जी अर्थात नाति पुस्ताको आन्दोलन र सडक प्रदर्शनले प्रधानमन्त्रीको राजिनामा आएपछि देशमा शान्ति र सुव्यवस्था कायम हुने अपेक्षा थियो , तर २०८२ साल भाद्र २४ गते दिनभर देशभर जे जस्ता क्रियाकलाप भए, त्यसले यो आन्दोलन जेन जी को नियन्त्रणमा नभएको देखिएको छ । सामाजिक सञ्जालमा २३ भाद्रको माइतीघर बानेश्वर प्रदर्शनको आयोजकका रुपमा खटिएका जेन जी नायकहरुले यो आन्दोलन आफ्नो नियन्त्रण र घोषित लक्ष्यभन्दा बाहिर गएकोले स्थिति नियन्त्रणमा लिइदिन नेपाली सेनाको नेतृत्वलाई आग्रह गरेका छन् ।
पकाएको भात पनि हातले खान नजान्ने चम्चाले खाने हाम्रो नाति पुस्ताका राज्य सञ्चालनमा अनुभव नभएका किशोरकिशोरीको नाममा चलेको आन्दोलनमा नेपालको इतिहासको अभिन्न अंगको रुपमा रहेको नेपालको राणाकालमा बनेको प्रमुख प्रशासकीय भवन सिंहदरबार, न्यायलयको धरोहर सर्वोच्च अदालत, राणाकालमा निर्मित राजतन्त्रदेखि गणतन्त्रसम्मको इतिहास बोकेको शितल निवासदेखि महान्याधिवक्ताको कार्यालय,विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघदेखि प्रदेशसम्मका मन्त्रीहरुको सरकारी निवास, जिल्ला सदरमुकामका सरकारी कार्यालयदेखि नगरपालिका कार्यालयहरु जुनरुपमा जलेका छन्, त्यसले नेपालको भवन निर्माण इतिहास र निर्माण कलालाई एकै दिनमा खरानी बनाएको छ । भुकम्पको बेलामा क्षतिग्रस्त भएका भवनहरु निर्माण गर्न विश्वका सबै देशसंग भिख मागेर एक दशकको अथक प्रयास पछि ठड्याइएका भवन संरचना र जोगाइएका इतिहासलाई खरानी बनाउन को उद्धत भयो ?
नेपालका कोही पनि अहिले बोल्न तयार छैनन् । तर भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्, नेपालमा जेन जी आन्दोलनमा आक्रोशित प्रदर्शनकारीहरुले जुन ढंगले देशव्यापी राष्ट्रिय सम्पत्तिको तोडफोड र आगजनी गरेका छन्, त्यसले नेपाल दशकौं पछाडि धकेलिएको छ । अब जसको सरकार बनेपनि ती संरचना बनाउन दशकौंको समय लाग्छ , खर्च कति लाग्छ ठेगान छैन । माओवादी द्धन्द्धकालमा क्षतिग्रस्त पारिएका संरचना नेपालले अझै राम्रोसंग बनाइसकेको छैन । जाजरकोट भूकम्पले क्षतिग्रस्थ निजी तथा सरकारी भवनहरु बनाउन सकिएको छैन । अब नेपालले कोसंग भिखमागेर अहिले ध्वस्त भएका प्रशासनिक देशभरका संरचना बनाउछ ?
जेन जी का अगुवाहरुले भनिरहेका छन्, हाम्रो आन्दोलन सामाजिक सञ्जाल सञ्चालन र भ्रष्टाचार अन्त्यमा सीमित थियो । जेल तोडेर अपराधीलाई निकाल्ने थिएन । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले पार्टीका सभापति रवि लामिछानेलाई जेन जीको आन्दोलनको नाममा निकालेकोमा पनि उनीहरुले असन्तुष्टि प्रकट गरेका छन् । उनीहरुले अब खोजिने राजनीतिक समाधानमा भ्रष्टाचार, ठगी र अन्य अपराधमा आरोपित र दण्डितहरुको संलग्नता नहोस् भन्ने शर्त नै राखेका छन् ।
यो आन्दोलनको क्रममा नेपालको सुरक्षा निकायको क्षमतामा ठूलो प्रश्न उठेको छ । नेपालको प्रहरी, सशस्त्र बल र नेपाली सेनाले कफ्र्यूमा पनि परिचालित हुन मानेनन् । आम नेपाली जनताको जीउ धनको सुरक्षाको लागि लगाइएको कर्फ्र्यु निरर्थक बन्यो । त्यो सिंहदरबार जहाँ निमुखा नेपालीहरु सिंहदरबारभित्र चिनेका सरकारी कर्मचारीले नाम लेखाएपछि नागरिकताको प्रमाणपत्र वा अन्य सरकारी निस्साको आधारमा मात्र छिर्न पाउथे, त्यहाँ करफ्र्यू लागेका समयमा जेन जी को नाममा निस्केको प्रदर्शनकारीलाई भित्र जान दिइयो । र सिंहदरबार जलाउदा सुरक्षा निकाय रमिते बनेर बस्यो । जंगी अड्डाको सामुन्ने रहेको नेपालको सर्वोच्च न्यायालयमा प्रदर्शनकारीले आक्रमण गरेर आगजनी गर्दा रोक्न र छेक्न सकिएन । । सेनामाथि रहेको आमजनताको विश्वास र भरोसामा यी घट्नाले असर पुर्याउनेतर्फ सैनिक नेतृत्व चनाखो देखिएन । नेपालको सुरक्षा निकाय प्रदर्शनकारीलाई छेक्न किन असमर्थ भयो ? राष्ट्रिय सम्पति जोगाउने दायित्व निर्वाह गर्न कसले अवरोध सिर्जना गर्यो ?
नेपालको इतिहास,अस्तिव र स्वधीनताप्रति गौरव गर्ने नेपाली सुरक्षा निकायको कमजोरीको फाइदा उठाएर देश कतै अस्थिरता र अराजकतातिर त जाँदैन भन्ने भय नागरिकस्तरमा उत्पन्न भएको छ । सेना लगायत सुरक्षाका सबै अंग सक्रिय होउन र देश र जनता जोगाउने प्रथम दायित्वमा कतै कमीकमजोरी नदेखियोस् भन्ने नेपालप्रेमी नेपालीहरुको कामना छ ।
हिजौ एकैदिन नेपालभर यस्ता गतिविधि भए :
सिँहदरबार, सर्वाेच्च अदालत सङ्घीय संसद् भवनमा आगजनीमा
काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन् ।
काठमाडौँ बानेश्वरसहितका स्थानमा जेन्सी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन् ।
सिँहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वाेच्च अदालत र नयाँ बानेश्वरस्थित सङ्घीय संसद् आगलागीबाट ध्वस्त भएको छ ।
प्रदर्शनकारीले रामशाहस्थित महान्यायाधीवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयसमेत आगजनी गरेका छन् । प्रदर्शनीकारीबाट नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका निवासमा तोडफोड र आगजनी गरिएको छ ।
एमालेका नेता गोकुल बास्कोटा, महेश्व बस्नेत, महेश बर्ताैलालगायतका निवासमा पनि आगजानी र तोडफोड भएको छ । आन्दोलनकारीले केही नेताहरूलाई पनि हातपात गरेको सूचना प्राप्त भएको छ । देशका मुख्य शहरहरूका महत्त्वपूर्ण भौतिक संरचना र निवासमा पनि आन्दोलनकारीबाट क्षति पुर्याइएको छ ।
जेन्जी पुस्ताको प्रदर्शनीमा प्रहरी कारवाहीमा होनाहार १९ युवा मारिएपछि प्रदर्शनीले उग्ररुप धारणा गरेको थियो ।
सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी
‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिनुभयो ।
आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् ।
महान्यायाधिवक्ता कार्यालय, विशेष अदालत, जिल्ला अदालत काठमाडौँका मुद्दाका काजजात बाहिर निकालेर समेत आगजनी गरिएको छ ।
हेटौँडाको अधिकांश सरकारी कार्यालयमा आगजनी
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले आज मकवानपुरको हेटौँडास्थित अधिकांश सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका छन् ।
आन्दोलनका क्रममा प्रदर्शनीहरूले हेटौँडास्थित बागमती प्रदेश मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रमुख कार्यालय बाहेका प्रदेश सरकारका सबै १० वटा मन्त्रालयको भवन, प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेका छन् ।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारीहरूले प्रदेश प्रमुख सचिवको निजी निवास, सरकारी वकिलको कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय उच्च अदालत पाटन हेटौँडा इजलास, हेटौँडा उपमहानगरपालिकाको ढाडलगायतको कार्यालयमा आगजनी गरेका छन् ।
यस्तै लोकसेवा आयोगको कार्यालय, यातायात सेवा कार्यालय, जिल्ला अदालत मकवानपुर, अख्तियार दुरुपयोग आयोग हेटौँडा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयमा आगजनी भएको छ ।
प्रदर्शनकारीहरूले हेटौँडा उपमहानगरपालिका–२ स्थित भाटभटेनी सपिङ कम्प्लेक्स, हेटौँडा उपमहानगरपालिका–५ स्थित बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर, कार्यालय, हेटौँडा–४ स्थित नेकपा एमालेका नेता एकालाल श्रेष्ठको घर, हेटौँडा–५ स्थित अजयराज सुमार्गीको घरमा समेत आगजनी गरेका छन् । त्यस्तै जेनजी आन्दोलनकारीहरूले मकवानपुरको मनहरी गाउँपालिका कार्यालय र बकैयाँ गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन् ।
आगजनीबाट कार्यालय, फर्निचर र सवारीसाधन जलेर क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कञ्चनपुरमा तोडफोड र आगजनी
आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि र नेताहरूको घरमा आगजानी र तोडफोड गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सांसद गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका–८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ ।
भीमदत्त नगरपालिका–६ ऐंठपुरस्थित सुदूरपश्चिम सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा आगजनी गरिएको छ । सुदूरपश्चिम सरकारका पूर्वआर्थिक मामिलामन्त्री प्रकाश रावलको खैरेनीस्थित घरमा पनि आगजनी र तोडफोड गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र उपप्रमुख निलम लेखक जोशीको घरमा तोडफोड गरिएको छ । बोगटीमा उल्टाखाम र उपमेयरको जानकी टोलस्थित घरमा तोडफोड गरिएको छ । भीमदत्त नगरपालिका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टको घरमा पनि तोडफोड गरिएको छ ।
सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पालको भीमदत्त नगरपालिका–१८ सालघारीस्थित घरमा तोडफोड र आगजनी गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतको जानकी टोलस्थित घरमा पनि तोडफोड भएको छ । यसैगरी बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा महेन्द्रनगर बजार गल्ली नं १ स्थित घरमा तोडफोड गरिएको छ ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको भीनपा–४ भगतपुरस्थित घरमा तोडफोड र आगजनी गरिएको छ । यसैगरी, शुक्लाफाँटा नगरपालिकाको प्रशासनिक भवन तोडफोड गरिएको छ ।
कार्यालयभित्रका फर्निचर, कम्प्युटरलगायतका सामान तोडफोड गरिएका छन । नगरपालिकाका १२ वटै वडा कार्यालयमा तोडफोडसँगै कार्यालयभित्र रहेका सामान बाहिर निकालेर आगजनी गरिएको छ ।
एमाले कञ्चनपुर इञ्चार्ज निरुदेवी पालको मेन रोडस्थित घरमा तोडफोड गरिएको छ । आन्दोलनकारीले प्रशासन कार्यालयमा आगजनी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयमा तोडफोड गरेका छन् ।
भीमदत्त नगरपालिकाको प्रवेशद्वारमा आगजनी गरिएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको घरमा तोडफोड गरिएको छ । सत्तारुढ कांग्रेस र एमालेका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयमा ढुङ्गा प्रहार भएपछि सिसा फुटेका छन् । दोधारा चाँदनीस्थित कांग्रेस पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।
झापाका दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड
जेनजी पुस्ताको आन्दोलनका क्रममा आज झापाका एक दर्जनभन्दा बढी सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरदेखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितका घरमा आगजनी र तोडफोड भएको हो ।
त्यस्तै सङ्घीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका जिल्लास्तरीय नेतासहितको घरमा आगजनी र तोडफोड भएको हो । एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)को जिल्लास्थित पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले बिहानैबाट निषेधाज्ञा जारी गरेपनि निषेधाज्ञाको उल्लङ्घन गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले झापाका दर्जर्नौँ सरकारी कार्यालय सहितका भौतिक संरचनामा क्षति पुर्याएका हुन् ।
बिहानैदेखि आन्दोलनमा उत्रिएको जेनजी पुस्ताका युवा समूहले बिर्तामोडमा प्रदर्शन गरेका थिए । सो क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गर्दै स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो ।
प्रहरीले चलाएको गोली लागेर अर्जुनधाराका एक युवाको मृत्यु र अन्य तीन जना घाइते भएसँगै थप आन्दोलित भएका उनीहरूले सरकारी कार्यालय तोडफोड र आगजनी गरेका थिए । आन्दोलनमा उत्रिएको समूहले दिनभर सरकारी कार्यालय र नेताका घर छानीछानी आगजनी गरेका थिए ।
प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ स्थित लक्ष्मीपूर निवासी गोपाल सुवेदीको मृत्यु भएको थियो । त्यसपछि उनीहरूले इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा नियन्त्रणमा लिँदै हतियारसमेत खोसेर कार्यालयमा आगजनी गरेका थिए ।
आगजनीका कारण दुवै कार्यालय पूर्णरूपमा जलेर नष्ट भएका छन् । योसँगै प्रर्दशनकारीले प्रहरीको हतियार समेत खोसेर लगेका थिए । तर, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसँगको समन्वयमा जेनजी पुस्ताले मानवअधिकारकर्मीको रोहवरमा अरिदमनगण चालआलीलाई हतियार बुझाएका थिए ।
जेनजी पुस्ताको समूहले बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, मेचीनगरपालिका, कनकाई नगरपालिका, बाह्रदशी गाउँपालिका, भद्रपुरस्थित भन्सार कार्यालय, बिर्तामोडस्थित यातायात कार्यालय, नेपाल टेलिकम, विभिन्न पालिकाका वडा कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । आगजनी र तोडफोडका कारण के कति क्षति भयो भन्न सक्ने अवस्था नरहेको बताइएको छ ।
यता बिर्तामेडस्थित भाटभटेनी सुपर मार्केटमा समेत साँझ प्रर्दशनकारीले आगजनी र तोडफोड गरेका छन् । जेनजी पुस्ताका युवा समूहले कोशी प्रदेशका प्रदेशसभा सदस्य गोपाल तामाङ, मेची नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, योजना शाखा प्रमुख अनन्त प्रकाश वस्ती, बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी, नगरप्रमुख पवित्रा महतारा प्रसाई, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, कांग्रेस झापाका सभापति देउकुमार थेवेलगायतका घरमा आगजनी र तोडफोड भएको छ ।
आन्दोलनरत पक्षलाई संयमता अपनाउन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पटकपटक आग्रह गर्दासमेत जेनजी पुस्ताको समूहले आन्दोलन रोकेको छैन । आन्दोलनका कारण झापा दिनभर असान्त बनेको थियो ।
घोराही र तुलसीपुरका सरकारी कार्यालयमा तोडफोड
जेनजी आन्दोलन दोस्रो दिन सोमबार दाङको घोराही र तुलसीपुरका सरकारी कार्यालय तथा राजनीतिक दलका भवनमा आगजनी र तोडफोड गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका, मालपोत, उच्च अदालत, आन्तरिक राजस्व, इलाका प्रशासन, नगर विकास समिति र कारागारसहितका सरकारी कार्यालयमा आगजनी गरिएको छ । एमाले, कांग्रेस र माओवादीका पार्टी कार्यालय पनि ध्वस्त पारिएका छन् । कारागारका बन्दीसमेत भगाइएको छ ।
प्रदर्शनकारीले एमाले महासचिव शङ्कर पोखरेल, नेता कोमल वली, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कांग्रेस नेता गेहेन्द्र गिरी, पूर्वमन्त्रीहरू हिराचन्द्र केसी र दीपक गिरीको घरमा समेत आगजनी तथा तोडफोड गरेका छन् ।
सुरुआतमा शान्तिपूर्ण देखिएको प्रदर्शन दिउँसोदेखि हजारौँको सहभागितासहित हिंसात्मक बनेको हो । प्रहरी नियन्त्रण बाहिर देखिएको यस घटनामा घोराहीमा घरेलु कार्यालय, मालपोत कार्यालय, शिक्षा समन्वय समिति, जिल्ला समन्वय समिति, नेपाल बार एसोसीयसन, जिल्ला अदालत, घोराही उपमहानगरपालिका, जिल्ला ट्राफिक कार्यालयलगायतका कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी
भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएपछि आक्रोशित भिडले प्रहरीलाई तितरवितर पारी ओली निवास प्रवेश गरी तोडफोड गर्नुका साथै दुईवटै घरमा आगजनी गरेका छन् । आगजनीबाट घर पूर्ण रूपमा क्षति भएको छ ।
त्यसैगरी पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मध्यपुरथिमि–१ लोकन्थलीस्थित घरमा प्रदर्शनकारीले तोडफोड गरी आगो लगाइदिएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एमाले नेता महेश बस्नेतको घरमा पनि प्रदर्शनकारीले तोडफोड गरी आगजनी गरेका छन् ।
त्यस्तै मध्यपुरथिमि नगरपालिका राधेराधेस्थित यातायात कार्यालयमा तोडफोड गरी कार्यालयको एक गाडी र कार्यालयभित्रका सम्पूर्ण सामान बाहिर निकालेर आगजनी गर्नुका साथै यातायात कार्यालयको भवनमा समेत आगजनी गरेका छन् ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय भक्तपुर प्रहरी परिसर भक्तपुर र आसपासका कार्यालहरू समेत तोडफोड र आगजनी गरिएको छ । सल्लाघारीस्थित ट्राफिक प्रहरी परिसर भक्तपुरको कार्यालय तोडफोडसहित ध्वस्त पारिएको छ भने सडकमा राखिएको प्रहरीको बिटहरूसमेत आगो लगाएका छन् ।
प्रर्दशनकारीले प्रहरी वृत्त जगातीमा तोडफोड गरी प्रहरी नायब उपरीक्षकको गाडी जलाएका छन्भने वृत्तमा आगजनी गरेका छन् । प्रहरी प्रभाग खरिपाटी तोडफोड गरेका छन् । प्रदर्शनकारी साँझ ७ः०० बजे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट प्रवेश गरी तोडफोड गरिएको छ ।
तनहुँका सरकारी कार्यालयमा आगजनी र तोडफोड
तनहुँको सदरमुकाम दमौलीस्थित सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । व्यास नगरपालिका–३ मा रहेका केही सरकारी कार्यालयमा जेनजी युवाले आज तोडफोड र आगजनी गरेका हुन् ।
व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा भवन तथा सवारीमा आगजनी र तोडफोड भएको छ । बिहानैदेखि सुरु भएको आन्दोलन साँझसम्म पनि जारी छ ।
प्रदर्शनकारीले व्यास नगरपालिका, आन्तरिक राजस्व कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका गाडीहरु जलाएर नष्ट गरेका छन् ।
सुर्खेतमा सरकारी र नीजि घरमा आगजनी, निषेधाज्ञा जारी
सुर्खेतमा जेनजी प्रदर्शनकारीहरूको आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनधनको क्षति कम गर्न निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयले आज अपरान्ह ४ः३० बजेदेखि अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन समेत) को दफा ६ (क) बमोजिम सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाको रत्नराजमार्ग अन्तरगत सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमल र यसको उत्तर–दक्षिण तीन सय मिटरमा आवतजावतमा रोक लगाएको छ । तोकिएको सीमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिनुभयो ।
निषेधाज्ञा पूर्वप्रदर्शनकारीले सुर्खेतस्थित नापी कार्यालय, कर्णाली प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय, अख्तियार अनुसन्धान दुरुपयोग, कर्णाली प्रदेशसभा, मुख्यमन्त्री यामलाल कँडेलको सरकारी तथा वीरेन्द्रनगर नगरपालिका–६ भैरवस्थानस्थित नीजि निवास, नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायतका पार्टीका कार्यालय समेत जलाएका छन् ।
त्यसैगरी, वीरेन्द्रगनगर नगरपालिका–७ इत्रामस्थित कांग्रेस केन्द्रीय सभापति तथा पूर्वरक्षा तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र उहाँका भाइ डम्बर खड्काको घरमा र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनाया ढकालको निजी निवासीमा आगजनी गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहको सरकारी निवासमा आगजनी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकासमन्त्री विजया बुढाको सरकारी निवासमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् ।
त्यस्तै, प्रदर्शनकारीहरूले वीरेन्द्रनगर नगरपालिका ६ र ४ स्थितको वडा कार्यालय र साँझ ७ः०० बजेतिर यहाँको शुभ होटलसमेत आगजनी र तोडफोड गरेका छन् ।
सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी
सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका जिल्ला पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ ।
आन्दोलनकारीको प्रदर्शनका क्रममा आज बिहानदेखि मलङ्गवामा भइरहेको प्रदर्शनका क्रममा दुवै पार्टीको कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । आज बिहानदेखि प्रदर्शन जारी रहेको मलङ्गवामा पार्टी कार्यालयहरुमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले मलङ्गवा नगरपालिका–३ मा रहेको एमालेको जिल्ला पार्टी कार्यालय र मलङ्गवा–८ मा रहेको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।
आगजनीका क्रममा पार्टी कार्यालयभित्र रहेका सोफा, टेबल, कुर्सीलगायतका सामग्री जलाइएको र तोडफोड गरिएको छ । स्थिति नियन्त्रणमा लिन अहिले मलङ्गवा क्षेत्रमा उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारी कार्यालयहरुमा समेत विशेष सुरक्षा व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सर्लाहीमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको उहाँले बताउनुभयो ।
पोखरामा पनि जले सरकारी कार्यालय र निजी प्रतिष्ठानहरु
पोखरामा अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ । मंगलबार प्रदर्शनकारीले मेयर, नेता तथा व्यवसायीको घर तथा व्यावासयिक प्रतिष्ठानमा आगो लगाएका छन् । तनाबग्रस्त बनेको पोखरामा जेनजीका नाममा भएको आन्दोलन उग्र भयो ।
पोखराका सबैजसो सरकारी कार्यालय जलेर ध्वस्त भएका छन् । न कार्यालय सग्लो छ, न कुनै कागजात र दस्तावेज बाँकी छन् । बाँकी छ त दनदनी दन्किरहेको आगो र आकाशमा मडारिइरहेको कालो धुँवाको मुस्लो ।
आन्दोलनकारीको नाममा समर्थकहरु पुगेपछि कास्की कारागारबाट ३५ जना महिलासहित ७ सय ७३ जना कैदीबन्दी भागेका छन् । ‘आन्दोकारीले तोडफोड गर्ने र आगो लगाउन खोजेपछि जेलरले तिनलाई रोक्ने प्रयास गरेनन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि विभिन्न अपराधमा दोषी ठहर भएका तथा विभिन्न मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दी मंगलबार साँझ बाहिर निक्लेर भागेका छन् । कैदिबन्दी भाग्नेक्रममा प्रहरीमाथि कुटपिट भएको छ ।
जेनजीका प्रदर्शनकारीले संघीय, प्रदेश र स्थानीय गरी तिनै तहका सरकारी कार्यालयमा आगो लगाएका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अन्तर्गतका कार्यालय तोडफोडमात्रै भएनन्, जेनजी युवाहरूले झोसिएको आगोले दस्तावेजसहित सबै सामग्री जलाएर नष्ट भएका छन् ।
न्यूरोडस्थित पोखरा महानगरपालिकाको कार्यालयबाट सल्किएको आगो सबैजसो सरकारी कार्यालय जल्दासम्म अझै निभेको छैन । पोखरा महानगर, मातहतका केही वडा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अधिकांश मन्त्रालय, प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालय, योजना आयोग, अदालत, जिल्ला प्रशासन, मालपोत, नापी कार्यालय सबै तोडफोड भएका छन् ।
सवारी साधनमा आगजनी भएको छ । । कार्यालयका अभिलेख तथा दस्तावेजका कागजात, कम्युटर, फर्निचर, सफ्टवेयरलगायत सबै सम्पत्ति जलेर नष्ट भएका छन् । आन्तरिक राजस्व कार्यालय, सडक डिभिजन कार्यालयसहित पोखराका अधिकांश सरकारी कार्यालय तोडफोड गर्दै भएको आगजनीले ध्वस्त भएको छ भने फाइलहरू, फर्निचर र त्यहाँका सामान जलेका छन् ।
आन्दोलनकारीले हेभि इक्युपमेन्ट कार्यालयका डोजर, लोडर, टिपर जलाएका छन् भने केही मेसिनरी सामान युवाहरू आफैंले चलाउँदै सडकमा प्रदर्शन गरे ।
जेनजीको आन्दोलनले पोखरा दिनभर तनाबग्रस्त बन्यो भने प्रदर्शन उग्र बन्दा सुरक्षाकर्मी नै पछाडि हट्नुपरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले बिहानै पोखराका प्रमुख सहरी क्षेत्रमा कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शनकारीले अवज्ञा गरेर प्रदर्शन जारी राखे ।
अन्ततः कर्फ्यू आदेश जारी गर्ने प्रशासन नै जलेर ध्वस्त भएको छ । विभिन्न सरकारी कार्यालयसँगै त्यहाँका सवारी साधन, मेसिनरी सामग्री जल्दै गर्दा बम पड्किएकै भान हुनेगरी ड्याम्म ड्याम्म आवाज गुञ्जिरहेको छ भने पोखराको आकाश कालो धुँवाले ढाकेको छ । सरकारी कार्यालय र महत्वपूर्ण दस्तावेज नै जलेपछि र देशैभर भएको आन्दोलनले सरकार नै ढलेपछि नागरिकमा अन्योलताको स्थिति छ ।
बिहान शान्त रूपमा पोखरा सभागृहमा भेला भएर शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका जेनजी युवाहरू प्रदर्शनमा संख्या बढ्दै गएपछि प्रहरीसँग झडपको स्थिति देखिन थाल्यो ।
प्रहरीले सुरूमा अश्रुग्याँस र गोली प्रहार गरेर नियन्त्रणको प्रयास गरे पनि असफल बन्न पुग्यो ।
प्रदर्शनकारीले पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा तोडफोड गरे, बाहिर ल्याएर सामानमा आगो लगाए ।
मेयर आचार्यको समेत लगानी भएको भनिएको र उनकै भाइ शिव आचार्य सञ्चालक रहेको पोखरा इभेन्ट सेन्टर पनि प्रदर्शनकारीले तोडफोड गर्दै आगो लगाइदिएका छन् । योसँगै गण्डकीका सामाजिक विकासमन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको घर, परिवारका व्यापारिक प्रतिष्ठान तोडफोड गर्दै आगजनी भएको छ ।
उहाँको नयाँबजारमा रहेको घर, व्यावसायिक प्रतिष्ठान, भाइ तथा अटो मोबाइल एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष तथा लायन्सका गभर्नर ध्रुुव थापाको घर र गाडीको सोरूमसमेत तोडफोड गर्दै जेनजी युवाहरूले आगो लगाइदिए ।
मन्त्री थापाको नयाँबजारको घरसँगै करिब डेढ महिना अगाडिमात्र परराष्ट्रमन्त्री आरजू राणा देउवाले उद्घाटन गरेको लेकसाइडस्थित बगैंचा रिसोर्ट, अंशुभरा ग्रुपको भवन पनि तोडफोड र आगजनी गरेका छन् । आन्दोलनकारीले गण्डकीका पूर्वसांसद तथा एमाले नेता राजीव पहारीको घरमा पनि तोडफोड र आगजनी गरेका छन् ।
प्रदर्शनकारीले उनीहरूको घर, निवास, व्यापारिक प्रतिष्ठान जलाएपछि पार्दी क्षेत्रमा रहेका सबैजसो कार्यालयमा आगजनी गरेका थिए । सहिदचोक र पार्दी क्षेत्रमै अधिकांश सरकारी कार्यालयहरू रहेका छन् । हातहतियारसहित ती कार्यालय भवनमा छिरेका प्रदर्शनकारीले सामान तोडफोड गर्दै सवारी साधनदेखि आगजनी गरेका छन् ।
ंप्रदर्शनकारीले पोखरामा रहेको एनसेलको कार्यालयसमेत तोडफोड गरेका छन् भने भाटभटेनी सुपरमार्केट पनि तोडफोड गरेका छन् ।
मन्त्रालय, मन्त्रीका घर र विभिन्न कार्यालयहरूमा तोडफोड गर्दै आगजनी हुन थालेपछि सबैको भागाभाग चलेको थियो । मन्त्रीहरू सुरक्षित ठाउँमा गएर बसेका थिए भने कार्यालयमा उपस्थित भएका कर्मचारीहरूको भागाभग भएको थियो ।
बागलुङका पार्टी कार्यालयमा तोडफोड
बागलुङमा जेनजी आन्दोलनले उग्ररुप लिएको छ । प्रदर्शनकारीहरुले यहाँस्थित राजनैतिक दलका पार्टी कार्यालयहरू तोडफोड गरी क्षति पु¥याएका छन् । उनीहरुले मङ्गलबार साँझ बागलुङस्थित नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय तोडफोड गरेका हुन् ।
एमालेको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचरका सामग्री निकालेर सडकमा ल्याएर जलाएका उनीहरुले त्यसपछि माओवादी केन्द्र बागलुङको पार्टी कार्यालय तोडफोड गरेर कागाजातपत्र जलाइएको छ । त्यसलगत्तै नेपाली कांग्रेस बागलुङको पार्टी कार्यालयबाट कागजपत्र र फर्निचर सडकमा ल्याएर जलाइएका थिए ।
कोशी प्रदेशमा पनि आगजनी
जेनजी प्रदर्शनकारीले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि आगजनी गरेका छन् ।
आगजनीका कारण मन्त्रालयमा रहेका सवारी साधन, कागजत, फर्निचर लगायत उपकरण जलेका छन् ।
जेनजी समूहले कोशी प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय, पर्यटन वन तथा वातावरण मन्त्रालय लगायत सरकारी संरचना र सरकारी सवारी साधन खोजीखोजी आगो लगाएका छन् ।
–––
–––