Prakash Adhikari September 10, 2025

नवलपुर (नवलपरासी), २५ भदौ : जेन–जी प्रदर्शनका क्रममा मङ्गलबार नवलपरासी –बर्दघाट–सुस्ता)मा रहेका विभिन्न राजनीतिक दल र तिनमा आवद्ध नेताहरुको घरमा तोडफोड र आगजनी गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालकाअनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालयमा आगजनी भएको छ । त्यस्तै यी राजनीतिक दलका नेताहरुको घरमा समेत आगजनी र तोडफोड भएको उहाँले जानकारी दिनुभयो । “जिल्लामा सरकारी कार्यालयभन्दा पनि बढी राजनीतिक पार्टी र उनीहरुको घरमा तोडफोड र आगजनी भएको छ” उहाँले भन्नुभयो, “त्यस्तै कावासोती नगरपालिका, गैँडाकोट नगरपालिकामा समेत आगजनी र तोडफोड भएको छ ।”

नवलपुरको गैँडाकोटस्थित मौलाकाली केबलकारको तल्लो स्टेशनमा समेत प्रदर्शनकारीले आगजनी गरेका नेपालको भनाइ छ । “जिल्लामा भएका क्षतिहरुको विवरण हामीले सङ्कलन गर्ने क्रम जारी छ” उहाँले भन्नुभयो, “अहिले जिल्ला अवस्थामा नियन्त्रणमा छ ।” जिल्लामा निषेधाज्ञा जारी रहेको उहाँले बताउनुभयो ।

बागलुङमा पनि निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय बागलुङले आज बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अर्को आदेश नआउञ्जेलसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नु भएको हो ।

बागलुङ नगरपालिका–१, २, ३ र ४ भित्रका सबै क्षेत्रह, गलकोट नगरपालिका– ३, ५ र ६, जैमिनी नगरपालिका–१ र ढोरपाटन नगरपालिका–१, २ र ३ मा कफ्र्यू आदेश जारी गरिएको प्रजिअ गुरुङले जानकारी दिनुभयो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यकम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गर्ने÷गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारवाही हुने विज्ञप्तिमा जनाइएको छ ।

Share Now