Prakash Adhikari September 10, 2025

न्युयोर्क, २५ भदौ (रासस\क्युएनए): अल्जेरिया र पाकिस्तानको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले दोहामा हमासको राजनीतिक ब्युरो सदस्यहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणबारे छलफल गर्न बुधबार आपत्कालीन सत्र बोलाउने भएको छ ।

संयुक्त राष्ट्रसङ्घका कूटनीतिक स्रोतका अनुसार परिषद्का सदस्यहरूले महासचिवालयका वरिष्ठ अधिकारीहरूबाट पछिल्ला घटनाक्रम र बढ्दो तनावबारे प्रत्यक्ष जानकारी लिने अपेक्षा गरिएको छ ।

महासचिव एन्टोनियो गुटेरेसले कतारमा भएको आक्रमणलाई देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको ‘स्पष्ट उल्लङ्घन’ भन्दै निन्दा गर्नुभयो । उहाँले गाजामा युद्धविराम सम्भव बनाउन र बन्धकहरूको रिहाइ सहज गर्न कतारले खेलेको ‘धेरै सकारात्मक भूमिका’ को प्रशंसा पनि गर्नुभयो । गुटेरेसले सबै पक्षलाई ‘गाजामा स्थायी युद्धविराम हासिल गर्नमा ध्यान दिनुपर्छ, यसलाई नष्ट गर्न होइन’ भन्नेमा जोड दिनुभयो ।

कतारको गृह मन्त्रालयले मङ्गलबार आन्तरिक सुरक्षा बल (लेखविया) का एक सदस्य, हमासका राजनीतिक ब्युरो प्रमुख खलील अल–हयाका छोरा हुमाम खलील अल–हय्यासहित तीन जनाको मृत्यु भएको जानकारी दिएको छ । साथै, धेरै सर्वसाधारण घाइते भएको पनि रिपोर्ट गरिएको छ ।

युद्धविराम वार्ता सङ्कटमा

इजरायलले मङ्गलबार कतारमा हमासको राजनीतिक मुख्यालयमाथि हवाई आक्रमण गरेको छ । मुख्यालयमा शीर्ष नेताहरू गाजा युद्धविरामबारे अमेरिकी प्रस्ताव छलफल गर्न भेला भएका थिए । यो आक्रमणले कतारलाई आक्रोशित तुल्याएको छ र वार्तालाई लिकबाट हटाउने खतरा पैदा गरेको छ ।

कतारले यसलाई ‘अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन’ भन्दै विरोध गरेको छ । साउदी अरब र संयुक्त अरब इमिरेट्सले पनि कतारलाई समर्थन जनाएका छन् । आक्रमणमा हमासका केही सदस्य र गार्डहरू मारिएका छन् भने शीर्ष नेताहरू जीवित छन् भन्ने दाबी गरिएको छ । तर तत्काल प्रमाण प्रस्तुत गरिएको छैन ।

अमेरिकाले इजरायलले आक्रमण गर्नुअघि जानकारी गराएको भने पनि आफू टाढै रहेको बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘दुर्भाग्यपूर्ण घटना’ भन्नुभयो ।

तर कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले नेतान्याहूलाई ‘क्षेत्रलाई अपूरणीय सङ्कटतर्फ तानेको’ भन्दै आलोचना गर्नुभयो ।

कतारले मध्यस्थता जारी राख्ने सङ्केत दिएको छ तर हालको वार्ता ‘वैध छैन’ भनेको छ । आक्रमणमा कतारी आन्तरिक सुरक्षाकर्मीको समेत मृत्यु भएको छ ।

हमासले यो कदमले इजरायल वार्ता चाहँदैन भन्ने देखाएको दाबी गर्दै अमेरिकालाई पनि दोष दिएको छ । इजिप्टले पनि कतारको सार्वभौमसत्तामाथि प्रत्यक्ष आक्रमण भएको भन्दै निन्दा गरेको छ ।

यसैबीच, बन्धक परिवारहरूको समूहले ‘फिर्तीको सम्भावना झन् अनिश्चित’ भएको भन्दै चिन्ता व्यक्त गरेको छ । प्रस्तावअनुसार युद्धविरामपछि इजरायली सेना फिर्ता हुने व्यवस्था थियो तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पूर्ण बन्धक मुक्तिसम्म युद्ध जारी रहने बताउनुभएको छ ।

आक्रमणपछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएको छ ।

साउदी क्राउन प्रिन्स र संयुक्त अरब इमिरेट्ेस (युएई) कतारसँग ऐक्यबद्धता जनाउँदै यसलाई ‘आपराधिक कार्य’ भनेका छन् ।

गाजा युद्धले इजरायललाई अन्तर्राष्ट्रिय रूपमा झन् अलग बनाइरहेको बेला यस कदमले क्षेत्रीय तनाव थप चर्काएको छ ।

Share Now