काठमाडौं, २८ भाद्र । नेपालको निजी क्षेत्रको छाता संगठन उद्योग बाणिज्य महासंघले देशभर भएको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षति गहिरो दुःख व्यक्त गरेको छ ।महासंघले आन्दोलनका क्रममा ज्यान गुमाउनुभएकाहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
महासंघले शुक्रवार प्रकाशन गरेको विज्ञप्तिमा सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले चासो देखाएको उल्लेख गर्दै यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भै युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ ।
महासंघले भनेको छ, देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार छ । नवनिर्माण एवं पुनरनिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध संचालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासंघ आग्रह गर्दछ । महासंघको सबै जिल्ला र एक सय भन्दा बढी पालिकाहरुमा सदस्य उद्योग वाणिज्य संघहरु मार्फत उपस्थिति रहेको छ । जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यता मार्फत महासंघले देशभरका करिब ६ लाख साना मझौला एवं ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दछ ।
महासंघले पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएको उल्लेख गर्दै यसरी व्यक्तिगत एवं व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको भर्त्सना गरेको छ । महासंघले व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैयाँ बराबरको क्षति भएको छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भएता पनि क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।
महासंघले यसैगरि, निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा संचालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्न जाने बताएको छ । उसले भनेको छ, त्यसैले सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन हुन आग्रह गर्दछौं ।
महासंघर्ले निषेधाज्ञा एवं कर्फ्युका समयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरुको आवतजावत एवं वस्तुहरु जस्तै औषधि, खाद्यान्न, दुध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसारपसार सहजीकरणका लागि पनि आग्रह गरेको छ । उसले यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघ एवं महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिताको महासंघ आग्रह गरेको छ ।
महासंघले गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिने तर्फ देशैभरका सबै उद्यमी व्यवसायीहरुमा आग्रह गरेको छ । साथै यसको सुनिश्चितताका लागि सम्बन्धित प्रदेश, जिल्ला, नगर एवं वस्तुगत संघहरुले अनुगमन गर्न पनि आग्रह गरेको छ ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपनि धेरै भन्सार नाका अहिले वन्द रहेका छन् । अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघले आग्रह गरेको छ । नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका बिषय समावेश हुँदा अर्थतन्त्र चलायमान भइ समुन्नति र स्थायित्व कायम हुने विश्वास महासंघले लिएको जनाएको छ।
यी विषयहरुमा बुधबार महासंघको कार्यकारिणी समिति र पूर्वअध्यक्षहरुसंगको वैठकमा पनि छलफल भै निजी क्षेत्रको धारणा सार्वजनिक गर्ने निर्णय भएको प्रसंग उठाउदै उसले भनेको छ, सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव छ । स्थायित्वका लागि युवाहरुको चाहना अनुरुप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता संगै लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्याउन महासंघ पुनः सबैमा आग्रह गर्दछ ।


















