Prakash Adhikari September 21, 2025

काठमाडौं, ५ असोज । वेष्ट इण्डिजसंग तीन खेलको श्रृखला खेल्न संयुक्त अरब इमिरेट्स(युएई) जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन दिनको प्रतीक्षा पछि युएईको भिसा पाएको छ।

विश्व विजेता समेत रहिसकेको वेस्ट इन्डिज विरुद्ध तीन खेलको टी २० ऐतिहासिक सिरिज खेल्न नेपाली टोली शुक्रवार युएई जाने तयारी थियो । तर भिसा नआएका कारण यात्रा रोकिएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली‌ सोमवार त्यसतर्फ प्रस्थान गर्नेछ। नेपालमा भएको पछिल्लो राजनैतिक घटनापछि युएईले नेपालीलाई भिजिट भिसा दिनमा कडाइ गरेको छ ।

क्यानले युएई सरकार तथा युएईको इमिरेट्स क्रिकेट बोर्डसँग समन्वय गरेर भिसाको लागि निरन्तर ताकेता गरिरहेको थियो ।

नेपाल र वेस्ट इण्डिजबीचको सिरिज युएईको सारजाह क्रिकेट स्टेडियममा असोज ११, १२ र १४ गते हुनेछ। क्यानले यसलाई युनिटी कप अन्तराष्ट्रिय टी २० सिरिज भनेर नाम दिएको छ।

यसको तयारीको लागि नेपाली टोली एक साता अगाडि युएई जाने तयारीमा रहेको थियो। नेपालले टेष्ट मान्यता राष्ट्रसँग कुनै पनि सिरिज खेल्न लागेको यो पहिलो पटक हो। यो सिरिज खेलेर नेपाल टी २० विश्व कप छनोट खेल्न ओमान जाने भएको छ।

Share Now