फियोना निमोनी / बीबीसी न्यूज
पेरिस(फ्रान्स), ७ असोज । फ्रान्सले प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिएको छ।
न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घमा बोल्दै फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले ‘शान्तिको निम्ति समय आएको’ र ‘गाजामा जारी युद्धलाई कुनै पनि कुराले जायज नठहर्याउने’ बताउनुभयो।
फ्रान्स र साउदी अरबले राष्ट्रसङ्घको महासभामा इजरेल र प्यालेस्टाइनबीच विद्यमान पुरानो विवादबारे छलफल गर्न एकदिवसीय शिखर सम्मेलन आयोजना गरेका छन्। यद्यपि जी सेभन समूहमध्ये जर्मनी, इटली र संयुक्त राज्य अमेरिका भने उक्त सम्मेलनमा सहभागी भएनन्।
उक्त सम्मेलन इजरायल र प्यालेस्टाइनबीच विद्यमान द्वन्द्वको दुई राज्य समाधानको योजनामा केन्द्रित छ।
माक्रोँको घोषणा आउनुअघि आइतवार राति इफिल टावरमा प्यालेस्टिनी र इजरेली झण्डा फहराइएको थियो।
आइतवार यूके, क्यानडा, अस्ट्रेलिया र पोर्चुगलले प्यालेस्टाइनलाई मान्यता दिएका थिए। बेल्जम, लग्जम्बर्ग, माल्टा, एन्डोरा र सन मरिनो पनि त्यस दिशामा अग्रसर छन्।
गाजाको पछिल्लो स्थिति
गाजाको मानवीय सङ्कट र वेस्ट ब्याङ्कमा बस्ती बसाउने विषयलाई लिएर इजरायलमाथि अन्तर्राष्ट्रिय दबाव बढिराखेको छ।
इजरायलले यस किसिमको मान्यताले प्यालेस्टिनी सशस्त्र समूह हमासलाई सन् २०२३ को अक्टोबरमा दक्षिणी इजरेलमा भएको आक्रमणका निम्ति पुरस्कृत गरे सरह हुने बताउँदै आएको छ। ती आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २५१ जनालाई बन्धक बनाइएका थियो।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ६५,००० भन्दा धेरै प्यालेस्टिनीको मृत्यु भइसकेको छ।
इजरायली सेनाले गाजा सिटीलाई नियन्त्रणमा लिन अहिले स्थल कारबाही चलाइरहेको छ। उक्त सहरमा १० लाख मानिसको बसोबास थियो। त्यहाँ अनिकाल परेको गत महिना पुष्टि भएको थियो।
सम्मेलनमा फ्रान्सका राष्ट्रपतिले युद्ध रोक्ने र हमासको नियन्त्रणमा रहेका बाँकी बन्धकलाई छुटाउने समय आएको बताउनुभएको छ। उहाँले अन्त्यहीन युद्धको खतराूबारे सचेत गराउँदै ूशक्तिभन्दा न्याय हाबी हुनुपर्नेू बताउनुभयो।
उहाँले मध्यपूर्वमा न्यायसङ्गत र स्थायी शान्तिको स्थिति बनाउन अन्तर्राष्ट्रिय समुदाय विफल भएको बताउनुभयो। इजरायल र प्यालेस्टाइन शान्ति र सुरक्षाका साथ सँगसँगै रहन सकून् भनेर दुई राज्य समाधानको सम्भावनालाई जोगाउन सक्दो बल लगाउनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो।
साउदी राजकुमार मोहम्मद बिन सलमानका तर्फबाट विदेशमन्त्री फैजल बिन फरहान अल साउदले पनि राष्ट्रसङ्घमा सम्बोधन गर्नुभयो ।
उहाँले उक्त क्षेत्रमा स्थायी शान्ति कायम गर्न दुई राज्य समाधान एकमात्र उपाय भएको दोहोर्याउनुभयो ।
युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लाइअनले गाजाको पुनर्निर्माणका निम्ति युरोपेली सङ्घले नयाँ वित्तीय उपाय स्थापित गर्ने बताउनुभयो ।
“हामी सबैले अझै धेरै गर्नुपर्छ”, उहाँले महासभामा भन्नुभयो, “त्यसैले हामी एउटा प्यालेस्टिनी दातासमूह खडा गर्ने छौँ।”
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले गाजाको स्थितिलाई नैतिक, कानुनी र राजनीतिक रूपले असहनीय भन्नुभयो। साथै उहाँले इजरायली र प्यालिस्टिनीहरूको शान्तिका निम्ति दुई-राज्य समाधान ‘एकमात्र विश्वसनीय बाटो’ भएको बताउनुभयो।
दुई-राज्य समाधानले वेस्ट ब्याङ्क र गाजा स्ट्रिपमा प्यालेस्टाइन राज्यको निर्माणलाई जनाउँछ जसको राजधानी पूर्वी जेरुसलेम हो र यो लगभग सन् १९६७ को अरब(इजरेली युद्ध पहिलेको स्थिति अनुरूपको हो।
इजरायलले हाल वेस्ट ब्याङ्क र गाजा दुवैमा कब्जा गरेको छ। अर्थात् प्यालेस्टिनी प्राधिकरणसँग आफ्नो भूमि वा जनतामाथि पूर्ण नियन्त्रणमा छैन।
अमेरिकाले भिसा रद्द गरिदिएपछि महासभामा उपस्थिति हुन नपाएका प्यालेस्टिनी प्राधिकरणका प्रमुख महमुद अब्बासले भिडिओमार्फत् सम्मेलनलाई सम्बोधन गर्नुभयो।
उहाँले स्थायी युद्धविरामको आह्वान गर्दै गाजामा शासन गर्ने विषयमा हमासको कुनै भूमिका हुन नसक्ने बताउनुभयो। साथै उहाँले हमासलाई प्यालेस्टिनी प्राधिकरणसमक्ष आफ्ना हतियारहरू बुझाउन पनि आह्वान गर्नुभयो।
“हामी हतियारबिनाको एउटा एकीकृत राज्य चाहन्छौँ”, उहाँले भन्नुभयो।
अब्बासले सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको निन्दा समेत गर्नुभयो र इजरायलीहरूलाई सम्बोधन गर्दै भन्नुभयो, ूहाम्रो र तपाईँहरूको भविष्य शान्तिमा निर्भर छ। हिंसा र युद्ध अति भयो।ू
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले जोर्डन नदीको पश्चिममा कुनै प्यालेस्टिनी राज्य नहुनेमा जोड दिँदै गर्दा राष्ट्रपति आइज्याक हर्जगले त्यसरी एउटालाई मान्यता दिने कार्यले केवल ूशत्रुतापूर्ण तत्त्वलाई प्रोत्साहन मिल्नेू बताउनुभएको छ।


















