Prakash Adhikari October 6, 2025

काठमाडौँ, २० असोजः जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो ।

वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गमन भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

बङ्गालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गतेदेखि आइतवार बिहानसम्म सक्रिय रहेको तथा त्यसबाट देशका विभिन्न भागमा परेको प्रभावबारे विभागले जानकारी दिएको छ ।

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।

यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन ÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

Share Now