काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेको छ।
सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले चुनावमा जाने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सो पार्टीको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो ‘हामीले चुनावमा जाने निर्णय गरेका छौँ । यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल गछौँ ।’
संयोजक प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको बताउनुभयो ।
‘हामी कसरी अघि बढ्ने भन्ने कुरामा केन्द्रीय समितिबाट निर्णय गरिसकेका छौँ । हामी घोषित मितिमा चुनाव हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने छ’, उहाँले भन्नुभयो, ‘र, हाम्रो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिन्छ । अहिले अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको छ । केही समयपछि त्यसको परिणाम पनि देखिन्छ ।’


















