Prakash Adhikari October 8, 2025

 

मस्कट(ओमान), २२ असोज । नेपालले आईसीसी टी ट्वान्टी विश्वकप अन्तर्गत एसिया तथा ईएपी छनोटमा कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुआत गरेको छ ।

नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अल आउट भयो । कुवेतका लागि ओपनर क्लिन्टो आन्टोले २६ र यासिन पटेलले १९ रन जोडे ।

खेलमा नेपालका सोमपाल कामीले चौथो बलमै ओपनर रविजा सान्दारुवानलाई बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि उस्मान पटेल नन्दन यादवको बलमा स्वीप खेल्ने धुनमा शून्यमा बोल्ड आउट भए । मित भावसारलाई ललितले ११ रनमा क्याच गराउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

कुवेतलाई रोक्ने क्रममा नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रोहित पौडेलले २ २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले १(१ विकेट लिए ।

त्यसअघि ओमान क्रिकेट एकेडेमी १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए । गुल्शन झाले ६ बलमा ३ छक्कासहित २० रन बनाए ।

नेपालका ओपनर आसिफ शेखले २, कप्तान रोहित पौडेलले१६, दीपेन्द्रसिंह ऐरीले २०, सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनको योगदान गरे ।

नेपाललाई रोक्ने क्रममा कुवेतका नविनराज राजेन्द्रानले २ तथा मोहम्मद अस्लाम, अनुपदीप र मोहम्मद फारुकले १(१ विकेट लिए ।

नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ ।

Share Now