कायरो(इजिप्ट), २३ असोज(बीबीसी) । इजरायल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति भएको दुवै पक्षले पुष्टि गरेका छन्।
युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै हमासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई यो सम्झौताको अनिवार्य कार्यान्वयन गर्न लगाउन आग्रह गरेको छ।
इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसलाई ‘इजरायलको महान् दिन’ भन्नुभएको छ र हमासद्वारा बन्धक बनाइएकाहरू छिट्टै रिहा हुने आशा गर्नुभएको छ। बिहीवार बस्ने इजरायली मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गरेपछि इजरायलले यसको कार्यान्वयन सुरु गर्ने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतको अग्रसरतामा विभिन्न पक्षका प्रतिनिधि र मध्यस्थकर्ताहरूबीच इजिप्टमा भएको वार्तामा यस्तो सहमति भएको हो।
इजरायल र हमासको घोषणाअघि नै ट्रम्पले सामाजिक सञ्जालमा शान्ति सम्झौता भएको दाबी गर्नुभएको थियो।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सीबीएस न्यूजलाई बताएअनुसार इजरायली मन्त्रिपरिषद्ले सम्झौता अनुमोदन गरेको २४ घण्टामा उसका सेनाहरू गाजाबाट फिर्ता हुन सक्ने छन् भने त्यसको ७२ घण्टाभित्र इजरायली बन्धकहरूको रिहाइ सुरु हुने सम्भावना छ।
यसअनुसार आगामी सोमवारदेखि हमासद्वारा बन्धक बनाइएकाहरू रिहा हुन सक्ने तर हमासले सम्भव भएसम्म अझ छिटो गर्ने बताएको जानकारी दिइएको छ।
राष्ट्रसङ्घको भनाइ
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले उक्त सहमतिको पूर्ण कार्यान्वयनमा राष्ट्रसङ्घले सहयोग गर्ने बताउनुभएको छ।
साथै गाजा पुनर्निर्माणका लागि सहयोग गर्ने उल्लेख गर्दै उहाँले त्यस क्षेत्रमा मानवीय सहायता पनि बढाउने जानकारी दिनुभएको छ।
उहाँले सहमति कार्यान्वयन गर्न सम्बद्ध सबै पक्षलाई आग्रह पनि गर्नुभएको छ ।
यसैबीच गाजामा रहेका प्यालेस्टिनीहरूले सम्झौताको स्वागतमा उत्सव मनाउन थालेको विवरण प्राप्त भएको छ।
विपिन जोशी रिहा हुने आशा
गाजा युद्ध सुरु भएकै दिनदेखि इजरालबाट सम्पर्कविहीन रहेका नेपालका एक विद्यार्थी विपिन जोशी पनि हमासको नियन्त्रणमा रहेको ठानिएको छ।
यसै साता बीबीसीका धनगढी संवाददाता हिक्मतबहादुर रावलसँग कुरा गर्दै उहाँका बाबु महानन्द जोशीले युद्धविरामको चर्चासँगै आफ्नो छोरा छिट्टै सम्पर्कमा आउने आफूले आशा गरेको बताउनुभएको थियो।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा विपिन जोशीका १० जना सहपाठीको मृत्यु भएको थियो।
मृत्यु हुने सबै सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विद्यार्थी थिए।
विपिन गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए।


















