Prakash Adhikari October 12, 2025

तेलअभिभ(इजरायल), २६ असोज । गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको नयाँ सूची सार्वजनिक भएको छ ।

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम पनि समेटिएको हो ।

टाइम्स अफ इजरायलले जीवित बन्धकको सूचीमा नेपालका विपिन पनि रहेको सार्वजनिक गरेको हो । यसअघि सीएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख थियो । हमासले अहिलेसम्म जीवित बन्दीहरूको नामावली दिइसकेको छैन ।

हमास र इजरायलबीचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबारसम्म बन्धक रिहा गर्ने सहमति भएको छ ।

जसअन्तर्गत २० जना जीवित र २८ शव हस्तान्तरण हुने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्दकहरू जीवितै रहेको इजरायलले विश्वास गरेको छ ।

वाशिङ्गटन पोस्टले समाचार संस्था एपीको सहयोगमा प्रकाशित गरेको एक समाचारमा विपिनसहित २२ बन्दीहरू जीवितै रहेको विश्वास गर्दै संक्षिप्त परिचय पनि उल्लेख गरेको छ ।

शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ देखि सुरु भएको दुई वर्षे विनाशकारी युद्ध अन्त्य हुने आशा जगाएको छ।

युद्धविराम सहमति अनुसार सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजेभित्र ९नेपाली समय अपराह्न २ः४५ सम्म० विपिन लगायत ४८ जनालाई रिहा गरिसक्नुपर्ने उल्लेख छ ।

यद्यपि हमासले भने उक्त अवधिमा सबै बन्धकहरूलाई हस्तान्तरण गर्न नसकिने भन्दै थप समय मागेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा ६७ हजार प्यालेस्टिनी मारिएका छन्। इजरायली कारबाहीमा ज्यान गुमाउने आधा महिला र बालबालिका छन्। गाजाको २० लाख जनसंख्याको ९० प्रतिशत जनसंख्या विस्थापित भएको बताइएको छ ।

Share Now