मस्कट(ओमान), २९ असोज।आईसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्रशान्त क्षेत्रको छनोटको सुपर सिक्समा आज नेपाल र ओमानबीच भिडन्त हुने भएको छ ।
खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८ः४५ बजेदेखि सुरु हुनेछ ।
नेपाल र ओमान दुवै देशका टिमहरु हालसम्म अपराजित रहदै विश्वकपको नजिक पुगिसकेका छन् । आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ । यसर्थ नेपालले आजको खेल जिते विश्वकपमा प्रतिस्पर्धा गर्ने स्थान सुनिश्चित गर्नेछ ।
नेपालले आइतबार यूएईलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हरायो ।
नेपालले छनोट प्रतियोगिता सुरु हुनुअघि खेलिएका अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपाल र ओमान हालसम्म टी-२०आई क्रिकेटमा ८ पटक भिडेका छन् । जहाँ नेपालले ५ खेल जितेको छ भने ओमानले एक सुपर ओभरसहित ३ खेल जितेको छ ।
नेपालले यसपछि शुक्रबार सामोआसँग खेल्नेछ ।
हालसम्मका दुई खेलमा चमत्कारपूर्वक विजयी बनेको नेपाली खेलाडीको मनोबल उच्च रहेको छ । आजको खेल जित्नेमा नेपाली टोली विश्वस्त रहेको छ ।


















