काठमाडौं, ३० असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वास्तविक एकता र अनुशासनको कारवाही फिर्ताको प्रस्ताव राख्नुभएको छ ।
पार्टीको केन्द्रीय समितिको आजको बैठकमा लिखित धारणा राख्दै उहाँले सो प्रस्ताव राख्नुभएको हो । उहाँले पार्टीभित्र वास्तविक एकताको आवश्यकता औल्याउदै भन्नुभएको छ, निःसन्देह यतिवेला कांगे्स भित्र एकताको खाँचो छ । यो पार्टी एकता निर्णय प्रक्रियामा न्याय स्थापित गरेर मात्र सम्भव हुन्छ । निर्णय प्रकृयालाई पारदर्शी र सबैैमा “विन–विन” को भावना विकास गर्नसके सम्भव हुन्छ । यसबौरे पार्टी भित्र व्यापक बहश, छलफल र विश्लेषण जरुरी छ ।
उहाँले आपसी अविश्वास र सन्देहले राजनीतिक र सामाजिक विवेक पनि समाप्त हुने बताउदै यस्तो प्रवृत्ति र संस्कृतिको अन्तबाट नै “राष्ट्रको दिशा र कांग्रेसको भविष्य” स्पष्ट हुने बताउनुभयो । उहाँले एकताबद्ध कांग्रेस, बलियो कांग्रेस र समयसापेक्ष परिवर्तित कांग्रेस आजको आवश्यकता भएको बताउनुभयो ।
नेता डा. कोइरालाले आफ्नो धारणाको बुँदा नम्बर ७ मा अनुशासन समितिबाट गरिएको कारबाहीको सिफारिस सम्बन्धमा उल्लेख गर्नुभएको छ । उहाँले पार्टीभित्र अपूर्व एकता कायम गर्न र पार्टीलाई आगामी निर्वाचनमा बहुमतमा लैजान नेपाली कांग्रेसका मूल्य,मान्यता,सिद्धान्त र नीतिप्रति प्रतिबद्ध सबै कार्यकर्तालाई विनाभेदभाव पार्टीमा सक्रिय हुने अवस्था सिर्जना गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ ।
उहाँले भन्नभएको छ, “२०७९ सालमा नेपाली काँग्रेस र अन्य दलहरुसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबैलाई वर्तमान राजनैतिक परिस्थितिमा उक्त कारबाही फिर्ता गर्न माग गर्दछु । सबै नेता कार्यकर्ता साथीहरु एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेकोले हाललाई सबै कारबाही फिर्ता गरी एकताका साथ संगठन निर्माणमा लाग्न निर्देशन दिने र बिभिन्न समयमा कारणबस कांग्रेसको मुलप्रवाहवाट वाहिरिएका सबैै साथीहरुलाई राष्ट्रको साझा भविष्य निर्माण गर्न कांग्रेसको मुलधारमा आउने आहन होस भनी म यहाँ प्रस्ताव राख्छु ।”
नेता डा.कोइरालाले भन्नुभएको छ, “लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हुनसक्छ भन्ने हाम्रो पार्टीको मूलभूत सिद्धान्त मात्र होइन, यो हाम्रो जीवन पद्धति पनि हो । आम नेपालीहरुले अपनाएको संस्कृति पनि त्यही हो ।”
उहाँले पार्टीभित्र सम्पूर्ण एकताको खाँचो औल्याउदै एकतामा नै बल छ भन्ने मुलमन्त्र वीपी कोइराला लगायत संस्थापक र अग्रजहरुले सिकाउनुभएको पनि स्मरण गर्नुभएको छ ।
नेता डा. कोइरालाले नेपाली कांग्रेस नेपाली समाजको सभ्यता , नेपालको इतिहाँस, लोकतन्त्रको पर्याय र नेपालका सबैै जात–जाति, धर्म, सस्कृति, परम्परा र लिङ्गको आन्दोलन भएको बताउदै भन्नुभयो, “कांग्रेस नेपाली नागरिकको लोकतान्त्रिक आन्दोलन हो ।”


















