काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा वालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । जसमा दश राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्।
बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाका चुनावको सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको छ।
आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाका चुनावको मिति तोकिएको छ। चुनावी सुरक्षाको विषयलाई लिएर राजनीतिक दलहरूले संशय व्यक्त गरिरहेका बेला प्रधानमन्त्री कार्कीले दलहरूसँग संवादको सुरुवात गरेकी हुन्।
कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक राजनीतिक दलहरूसँग सामुहिक छलफल गर्नुभएको हो।
यसअघि प्रधानमन्त्री कार्की राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा भने सहभागी भएकी थिइन्।
खासगरी नेकपा एमालेले आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकालेको छ । उसले निर्वाचन हुन नसक्ने निष्कर्ष निकाल्दै संसद् पुर्नस्थापनाको माग राखेको छ ।
बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई पनि बोलाइएको छ ।
दुवै जना पर्यवेक्षकको रुपमा सहभागी हुन भनिएको थियो ।
बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी हुने भएका छन् ।
जनमतका नेता चन्दन सिंह समेत सहभागी छन् ।
कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी हुनुहुन्छ ।
रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी हुनुभएको छ ।
एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालाले भाग लिनुभएको छ ।


















