Prakash Adhikari October 22, 2025

काठमाडौं, ४ कार्तिक । विघटिन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले निर्वाचन सुरक्षाको बारेमा अधिक चासो राखेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन विघटित संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुसँग मंगलबार गरेको छलफलमा दलका नेताहरुले सुरक्षा चासो व्यक्त गरेका हुन्।

छलफलमा नेताहरूले पालैपालो बोलेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। आजको छलफलमा शंकर पोखरेल, पम्फा भुसाल, प्रेम सुवाल, राजेन्द्र गुरुङ, गगन थापा, स्वर्णिम वाग्ले, रेशम चौधरी, चन्दन सिंह, राजेन्द्र पाण्डे, उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्लाले आफ्नो धारणा राख्नुभयो।

‘निर्वाचनमै केन्द्रित भएर सबैले धारणा राख्नुभएको छ। निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ। सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राख्नुभएको छ,’ सञ्चार मन्त्री खरेलले भन्नुभयो, ‘एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन।’

निर्वाचनका लागि राजनीतिक दलहरुले राखेको शान्ति शुरक्षाको विषयलाइ मुख्य चासोको रुपमा बैठकमा उठाएका छन्। बैठकमा सहभागी दलका नेताहरुले आफ्नो आफ्नो दलको तर्फबाट निर्वाचनका सम्बन्धमा पार्टीको औपचारिक धारणा राख्नुभएको थियो।

प्रधानमन्त्री कार्कीद्धारा आश्वस्त गराउने प्रयास

दलका प्रतिनिधिहरुलाई आश्वस्त गराउने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताउनुभएको थियो। राजनीतिक दलहरूसँग आज भएको संवादमा उहाँले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गर्नुभयो।

दलहरूसँग संवादमा ढिलाइ किन भन्ने सन्दर्भमा उहाँले भन्नुभयो, ‘यसबीचमा घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भयो। त्यसमा समय लाग्यो। सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहनुभएको थिएन।’

राष्ट्रपति रामचन्द्र पौडेलबाट संवादको ढोका खोलिदिने काम भएको बताउँदै प्रधानमन्त्री कार्कीले अब जेनजी र दलहरू बसेर जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जान आह्वान गर्नुभयो। ‘चुनाव सफल बनाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका खेलौँ। यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ,’ उहाँले भन्नुभयो।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन मंगलवार विघटित संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल गर्नुभएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो।

संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी छलफलमा नेपाली कांग्रेसबाट गगनकुमार थापा र डा प्रकाशशरण महत, नेकपा (एमाले) बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोबिता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत सहभागी हुनुहुन्थ्यो ।

Share Now