बालकोट(भक्तपुर), ५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा गलत तत्वहरूले देशविरुद्ध भयानक षड्यन्त्र गरिरहेको दावी गर्नुभएको छ।
जेन–जी आन्दोलनमा आगजनी गरिएको भक्तपुर बालकोटको घरको बुधबार अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।
जेन–जी आन्दोलनकै कारण सैनिक दवावको कारण सरकार छाड्न बाध्य तात्कालीन प्रधानमन्त्री ओलीले सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजनी गर्नेहरू आपराधिक समूह नै भएको बताउनुभयो।
जेन–जी आन्दोनलका क्रममा आफ्नो घरमाथि तोडफोड र आगजनीका साथै महत्वपूर्ण सामानहरु लुटिएको बताउदै एमाले अध्यक्ष ओलीले उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार उदासिन देखिएको आरोप लगाउनुभयो।
वर्तमान सरकारले आफूविरुद्ध थप योजना बनाइरहेको उहाँको आशंका छ। गृहमन्त्रीले आफूमाथि व्यक्तिगत दुश्मनी लिएको भन्दै ओलीले आफूविरुद्ध थप योजना बनाइराखेको गम्भीर आशंका रहेको बताउनुभयो।
‘गृहमन्त्रीको हालैको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ देखिएको छ,’ उनले भने, ‘नेकपा एमाले अचानक पलाएको सरकारको तमाशासँग विचलित हुँदैन। एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्छ।’


















