जनकपुरधाम(धनुषा),९ कार्तिक । छठ पर्वअन्तर्गत आज खरना विधि सम्पन्न भएको छ। चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन व्रतालुले छठीसहित इष्टदेवलाई पूजाआराधना गरी खरना विधि सम्पन्न गरेका हुन्।
व्रतालुले माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा सक्खर, दूध तथा चामलबाट बनेको खिर खरनामा नैवेद्यका रुपमा दिनुपर्ने हुन्छ। खरनामा छठ पर्वको मुख्य दिन चढाउने अघ्र्य जति स्थानमा केराको पातमाथि नैवेद्य चढाउनुपर्ने हुन्छ। खरनामा नैवेद्यमा खिर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी आदि चढाइन्छ। नैवेद्यलाई केराको पातमा राखेर छठीमातासहित इष्टदेवतालाई चढाइन्छ।
नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रतालु र परिवारजनले प्रसादग्रहण गर्ने गरेका छन्। योसँगै दिनभरि निराहार उपावास बसेकी व्रतालुले नुनरहित खरना खाएका छन्।
खरनासँगै व्रतीले खाएको नुनरहित खानापछि करिब ४८ घण्टाभन्दा बढी समयसम्म निराहार बस्ने गर्दछन्। खरनालाई छठ पर्व आस्था र निष्ठाका साथ सम्पन्न गर्ने सङ्कल्प गर्ने विधिका रुपमा समेत मानिन्छ।
छठअन्तर्गत सोमबार बिहानदेखि नै प्रसाद छठ घाटमा लगेर राखिने र साँझ अस्ताउन लागेको सूर्यलाई पहिलो अरघ्य दिने विधि रहेको छ। मङ्गलबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर छठ व्रतको विधिवत् रुपमा समापन गरिन्छ। सोही दिन व्रतीले ४८ घण्टाको कठोर उपवासपछि खाना खाने गर्दछन्, जसलाई पारण भनिन्छ।
विश्व शान्ति, मानव कल्याणका साथै परिवारजनको खुसी, शान्ति, समृद्धि, सन्तान प्राप्ति तथा निरोगिताको कामनासहित छठ पर्व मनाउने चलन छ। चार दिनसम्म मनाइने छठ पर्वको आजदेखि पर्सिसम्मको विधि नै मुख्य विधिका रुपमा रहेको छ।


















