सिलोड.(भारत), १० कार्तिक । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आज भारतको सामना गर्दैछ।
सिलोङको जवाहरलाल नेहरु रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६स्१५ बजे सुरु हुनेछ।
यो खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ। किनकी प्रतियोगीतामा इरान च्याम्पियन बनिसकेको छ।
इरानले नेपाल ३(० र भारतलाई २(० हराउँदै च्याम्पियन बनेको हो। त्यसैले दुई चिरप्रतिद्वन्द्वी भारत र नेपाल आज प्रतिष्ठाको लागि मैदानमा उत्रनेछन्।
उपाधि इरानले जितिसकेको कारण यो खेलको नतिजाले कुनै असर गर्दैन । तर नेपाल र भारतबीचको खेल प्रतिष्ठासँग जोडिएको छ।
करिब एक वर्ष अगाडि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले अत्यन्त रोमाञ्चक खेलमा भारतलाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको थियो। सो खेलपछि भने आज नेपाल भारतको घरेलुु मैदानमा उत्रदैछ।
यसअघि नेपाल र भारतबीच १८ खेल खेलेको छ। भारतले ११ खेल जित्दा नेपालले मात्र ३ खेल जितेको छ। ४ खेल भने बराबरीमा सकिएको छ।
तथ्याङ्कमा भारत बलियो देखिए पनि पछिल्लो ३ खेलमा नेपाललाई भारतले हराउन सकेको छैन । त्यसैले पनि भारत विरुद्धको यो जितको सिलसिलालाई निरन्तरता दिन आजको खेल महत्वपूर्ण रहनेछ।
नेपाल इरानसँग भने ३(० ले हारेको थियो। नेपालले सो खेलमा ८ मिनेट भित्र ३ गोल खाएको थियो। त्यसैले सो खेलको पिडालाई मेटाउन भएपनि नेपाललाई आज जित निकाल्न जरूरी छ।
साथै भारत पनि घरेलु भूमिमा जित सहित त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको अन्त्य सुखद गर्न चाहन्छ। आजको खेल फिफा विन्डोमा रहेको छ।
तीन खेलाडी परिवर्तन
नेपालले भारतसँगको खेलका लागि इरानसँगको खेलेको पहिलो रोजाइमा ३ खेलाडी परिवर्तन गरेको छ।
महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले गोलकिपरमा अन्जना राना मगर , मिडफिल्डर दिपा शाही र डिफेन्डर मनमाया दमाईलाई पहिलो रोजाइमा मौका दिएका छन्।
इरान विरुद्धको पहिलो रोजाइमा खेलेका गोलकिपर एन्जिला तुम्बापो सुब्बा तथा डिफेन्डर निशा थोकर र हिरा कुमारी भुजेल आराम दिइएको छ।
अघिल्लो खेलका कप्तान सावित्रा भण्डारी ‘साम्बा’, रेनुका नगरकोटे, प्रीति राई , रेखा पौडेल, समिक्षा घिमिरे , विमला विके, पूजा राना र सविता राना मगरलाई आज पहिलो रोजाइमा निरन्तरता दिइएको छ।


















