सिलोड.(भारत), १० कार्तिक । स्ट्राइकर सावित्रा भण्डारीको दुई गोलसँगै नेपालले थ्री नेसन्स कपमा भारतलाई पराजित गरेको छ।
शिलोङको जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न खेलमा घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको हो।
प्रतियोगिताको उपाधि यसअघि नै इरानले जितिसकेको छ।
इरानले भारतलाई २–० र नेपाललाई ३–० ले पराजित गरेको थियो। आजको खेलमा नेपालले सुरुआतदेखि नै भारतलाई दबाबमा राखेको थियो।
खेलको दोस्रो मिनेटमै साम्बाले नेपाललाई सुरुआती अग्रता दिलाइन्। डिफेन्स लाइनबाट आएको लामो क्रसमा उनले गोल गरेकी हुन्।
नेपालले दोस्रो हाफमा पनि एक गोल थप्यो। यसपल्ट पनि साम्बाले नै गरिन गोल। ६३औं मिनेटमा उनले सिधै प्रहार गरेको फ्रिकिकलाई भारतीय गोलकिपरले रोक्न सकिनन् ।
तर, ८१औं मिनेटमा करिश्मा सिरभोकरले गोल फर्काइन्। निर्माला देवीबाट आएको बल बाउन्स हुँदै नेपाली डिफेन्डर विमला बिकसामु पुगेको थियो। तर, उनले रोक्न नसक्दा वैकल्पिक खेलाडी करिश्माले गोल फर्काइन्।


















