Prakash Adhikari October 31, 2025

दुबाइ(युनाइटेड अरब इमिरेट्स),१३ कार्तिक । आइसिसी विश्वकप लिग टु अन्तर्गत युएईको दुबाइमा भैइरहेको त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको लय समाउन कठिनाइ भएको छ ।

युएईकै मैदानमा वेष्ट एण्डिज जस्तो टेष्ट राष्ट्रको टिमलाई पराजित गरेको र ओमानमा भएको टी २० एशिया तथा इष्ट एशिया प्रशान्त क्षेत्रमा अपराजित विजेता बनेको नेपाल बिहिवार सम्पन्न लिग २ को दोस्रो खेलमा पुछारमा रहेको युएईसँग ५ विकेटले पराजित भएको छ।

५० ओभरको खेलमा ३०० वटा बलमा छानी छानी बाउन्ड्री कटाउन पाउने र रन लिने सहुलियत ब्याटरहरुलाई हुन्छ तर नेपाली ओपनर शीर्षक्रमका ब्याटरहरु टी २० मा झै जस्तो बललाई पनि बाउन्ड्री पार गराउने धुनमा क्याच आउट हुने गरेका छन् । ५० ओभरको खेलमा धैर्यताका साथ खेल्ने एकमात्र खेलाडी वर्तमान कप्तान रोहित पौडेल हुन् । उनले युएईसंगको खेलमा पुरानो लय समाते । तर उनको शतकीय पारिलेमात्रै जित दिलाउन सकेन । उनले अरु ब्याटरको राम्रो साथ पाएनन् । नेपाली बलरहरु पनि विकेट झार्न असमर्थ रहे ।

एक दिवसीय खेल कसरी खेल्नुपर्छ भन्ने प्रशिक्षण नेपाललाई पहिलो खेलमा अमेरिकाले दिएको थियो ।उनीहरुले निकै धैर्यतापूर्वक खेले । एक ओभरमा एउटा चौका वा छक्का हान्ने । नराम्रो बल छ भने कि डट हुन दिने कि एक रन लिएर जोडीलाई पालो सार्ने । यो कला उनीहरु खेलभरि देखाए । तर हाम्रा वीर गोर्खालीहरु आफ्नै धमण्डमा रहे । परिणाम दुवै खेलमा नेपालले पराजय ब्यहोर्न बाध्य भयो । अघिल्लो सिजनमा मोन्टी देशाइले यही टिमलाई लिगका बाँकी खेलमा शतप्रतिशत जित दिलाएको कला पनि नेपाली खेलाडीहरुले बिर्सिए । टी २० मा वेष्ट इण्डिज र ओमान सिरिज अपराजित च्याम्पियन बनेको घमण्डले दुई खेलबाट ४ अंक नेपालले गुमायो । यो सिरिजका सबै खेल जितेर अंकतालिकामा नेपाल उकासिने अनुमान क्रिकेट प्रेमी नेपालीको रहेको थियो ।

बिहिबारको खेलमा जितको लागि २ सय ३४ रनको लक्ष्य पाएको घरेलु टोली युएईले ४३.३ओभरमा ५ विकेटको नोक्सानीमा सो लक्ष्य पूरा गर्यो।

सुरुवात राम्रो गरेको युएईले पहिलो विकेटको लागि ओपनरद्वय अलिसान सराफु र आर्यान्स शर्माले ६३ रनको साझेदारी गरे।

आलिसान नवौं ओभरमा ४५ रन जोडेर करण केसीको बलमा रोहित पौडेलद्वारा सम्हातिए। लगत्तै रनको खाता नखोलेका सोहेब खान सन्दीप लामिछानेको बलमा आउट भए।

नेपाली बलरहरुले विकेट झार्न सकेनन् भने कप्तान राहुल चोप्रा १५ रनमा रिटायर्ड हर्ट भए। यतिखेर टिमले १ सय १८ रन बनाइसकेको थियो।

राहुलको स्थानमा मोहम्मद वासिम क्रिजमा छिरे। उनले आर्यान्ससँग ७६ रनको साझेदारी गरे। २६ रन जोडेर तेस्रो विकेटको रुपमा पबिलियन फर्किए। यतिखेर युएई १ सय ९४ रन बनाउँदै जितको निकै नजिक पुगिसकेको थियो।

टोलीलाई सहज जिततर्फ डोर्याएका आर्यान्स शतकबाट मात्र दुई रनले चुके। ३४ओभरमा सन्दीपको बलमा ९८ रन बनाएका आर्यान्स कट एन्ड बोल्ड हुन पुगे। उनी करियरकै पहिलो शतक नजिक पुगे। शतक संभव नभएपनि ओडिआईमा सर्वाधिक रन जोड्न सफल रहे। उनले यसअघि ५७ रन बनाएका थिए।

पाँचौं विकेटको रूपमा हर्षित कौसिक १३ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा आउट भए। यतिखेर ५८ बलमा युएईलाई जितको लागि १६ रन मात्र जोड्नु थियो। ध्रुर्व परासर १६ रनमा अविजित रहे।

युएईलाई रोक्ने क्रममा बलिङमा सन्दीपले‌ १० ओभरमा ३४ रन दिएर २ विकेट लिए। करण र दीपेन्द्रले १ । १ विकेट लिए।

त्यसअघि आइसीसी एकेडेमी दुबईमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। ५० ओभरमा नेपालले सम्पुर्ण विकेट गुमाउँदै २ सय ३३ रन बनायो।नेपालले सुरुवात राम्रो गर्न सकेन। मात्र २६ रन जोड्दा २ विकेट गुमाइसकेको थियो।

कुशल भुर्तेल ७ रनमा र भीम सार्की ३ रनमा आउट भए। लगतै आशिफ शेख ३५ रनमा आउट हुन पुगे। ६१ रन जोड्दा नेपालले पहिलो क्रमका ३ ब्याटर गुमायो।

तर यसपछि भने कप्तान रोहित र आरिफ शेखले चौथो विकेटको लागि ७० रनको साझेदारी गर्दै इनिङ्स उकासे। आरिफ २७ रनमा आउट भए। ४ विकेट गुमाउँदा नेपालले १ सय ३१ रन बनायो।

यसपछि कप्तानलाई साथ दिन आएका उप कप्तान दिपेन्द्र सिंह ऐरीले पाँचौ विकेटको लागि लागि ५४ रनको साझेदारी गरे। दीपेन्द्र २३ रन जोडेर रन आउट भए।

गुल्सन झा पहिलो बलमा आउट भए। ४१.५ ओभरमा ६ विकेट गुमाउँदा नेपालले १ सय ८६ रन बनाएको थियो।

क्रिजमा कप्तान रोहित र सोमपाल थिए। ४६ औं ओभरको पहिलो बलमा रोहितले २ रन प्रहार गर्दा नेपालले २०० रन पूरा गर्यो।

यही क्रममा रोहितले शतकको सफलता प्राप्त गरे। १ सय २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै शतक पूरा गरे। ओडिआईमा उनको यो करियरको दोस्रो शतक हो। यसअघि उनले सन् २०२२ मा पपुवा न्युगिनी विरूद्ध पहिलो शतक बनाएका थिए।

रोहितले शतक बनाउँदै इनिङ्स सम्हाले। तर नेपालले अन्तिम ५ ओभरमा नेपालले रन रेटलाई बढाउन सकेन्। ४८ औं ओभरमा नेपालले २ विकेट गुमायो। सोमपाल ६ रनमा आउट भए।

लगत्तै रोहित जाहिद अलिले रोहितको ठूलो विकेट लिए। उनी १ सय ९ रन जोडेर आउट भए। ४८ ओभरको समाप्तीमा नेपालले ८ विकेट गुमाउँदा २ सय १७ रन जोडेको थियो। करण केसीले १३ रन बनाए। नेपालले अन्तिम ५ ओभरमा मात्र ३९ रन बनाउन सक्यो।

नेपाललाई रोक्ने क्रममा युएईका जाहिद अलिले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए। ओडिआईमा डेब्यु गरेका को लागि यो खेल स्मरणीय रहयो। यस्तै जुनेदले १० ओभर बलिङ गर्दै ५४ रन दिएर ३ विकेट लिए।

नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १ सय ७ रनले हारेको थियो। १८ औं खेलमा नेपालको यो ११ औं हार हो। नेपाल १२ अंक सहित सातौं स्थानमा छ। पुछारमा रहेको युएईको चौथो जित हो। उसले ८ अंक बनाएको छ। अब नेपालले शनिवार शीर्षस्थानको अमेरिकासँग खेल्नेछ।

Share Now