Prakash Adhikari November 3, 2025

दुबाई(संयुक्त अरब इमिरेट्स), १७ कार्तिक । अमेरिकाले युएईमा जारी आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको चौथो खेलमा घरेलु टिमलाई २ सय ४३ रनको विशाल रन अन्तरले पराजित गर्दै युएई त्रिकोणात्मक सिरिज क्लिनस्वीप गरेको छ।

नेपाल, युएई र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज २ सय ९३ रनको लक्ष्य पछ्याएको युएई लाई ४९ रनमा अलआउट गर्दै अमेरिकाले २ सय ४३ जित हासिल गरेको हो।
यो सिरिजका चारै खेल जितेर अमेरिका लिग को अंक तालिकामा ८ अंक थप्दै शीर्ष स्थान बलियो बनाएको छ।

साइतेजा मुक्कमल्ला र मिलिन्द कुमारको कीर्तिमानी साझेदारीमा पहिले ब्याटिङ गरेको अमेरिकाले ३ विकेटको नोक्सानीमा २ सय ९२ रन बनाएको थियो।

त्यसपछि अमेरिकी बलर रुसिल उग्राकर र सौरभ नेत्रभलकरको घातक बलिङमा युएई २२.१ ओभरमा ४९ रनमा अलआउट भएको थियो। युएईका खेलाडीलाई अमेरिकाले घरेलु मैदानमा बलिड. र ब्याटिड. दुवैमा धुस्नु चुटान गर्यो । खेलमा जुनैद सिद्दीकीले १० रन बनाउन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

रुसिलले ८.१ ओभरमा एक मेडन राख्दै मात्र २२ रन दिएर ५ र सौरभले ८ ओभरमा ४ मेडन राख्दै मात्र ४ रन दिएर ३ विकेट लिए । शुभम रन्जाने र मिलिन्द कुमारले समान १ । १ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा युएईले टस जितेर फिल्डिङ रोजेको थियो।

पहिले ब्याटिङ गरेको अमेरिकाले ७ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै २८ रन बनाएको थियो। त्यसपछि साइतेजा र मिलिन्दले चौथो विकेटका लागि २ सय ६४ रनको नटआउट कीर्तिमानी साझेदारी गरे। दुबैले‌ शतक पूरा गरे।
१ सय ४९ बलमा साइतेजाले १० चौका र ३ छक्का सहयोगमा १ सय ३७ रन बनाए । मिलिन्दले १ सय २५ बलमा ११ चौका र १ छक्कासहित १ सय २३ रन जोडे। त्यसअघि कप्तान मोनांक पटेल १५ , ओपनर स्मिथ पटेल ५ र सयान जहाजिर २ रनमा आउट भए।

लिग टुको २४ खेल मध्ये १८ जित र ६ मा हार बेहोरेको अमेरिकाको ३६ अंक छ। सिरिजमा अमेरिकाले नेपाल र युएईलाई दुई । दुई खेलमा हराएको छ।

८ टोली सहभागी रहेको लिग टुको तालिकामा नेपाल १२ अंकसहित सातौं र युएई ८ अंकसहित पुछारमा छ।

सिरिजको अन्तिम खेलमा बुधबार नेपाल र युएईबिच हुनेछ ।

अमेरिकालाई श्रीलंकाली मुख्य प्रशिक्षक पुबुदु दासानायकेले साच्चै छुरा जस्तै धारिलो बनाएका रहेछन् । नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहिसकेका उनको प्रशिक्षण पाएका नेपाली खेलाडीहरु यस पटक सिरिज कब्जा जमाउने आशामा थिए । र लामो समयसम्म मुख्य प्रशिक्षक पनि नपाएका र ५० ओभरको एक दिवसीय खेल प्रतियोगितामा सहभागी नभएका नेपाली खेलाडीहरु टी २० कै फम्र्याटमा खेल्दा तीन खेलमा नराम्रोसंग पराजित भएका छन् । अमेरिकासंगको दोस्रो खेलको लय कायम राखे भने नेपालले युएईसंगको दोस्रो खेल जित्न सक्ने संभावना बलियो छ ।

Share Now