चन्द्रगढी(झापा) २४ कार्तिक । नेपाल पुलिस क्लबले झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा पुलिसले अर्को विभागीय प्रतिद्वन्द्वी एपीएफलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
पुलिसको जितका लागि खेलको २१औं मिनेटमा मिना देउवाले गरेको गोल नै निर्णायक बन्यो । यसअघि सेमिफाइनल चरणमा नेपाल पुलिस क्लबले संकटा एफसीलाई र एपीएफले आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।
प्रतियोगिताको विजेता पुलिस क्लबले १० लाख १० हजार रुपैयाँ र दोस्रो भएको एपीएफ क्लबले ५ लाख रुपैयाँ पाएको छ ।








