काठमाडौँ, २ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ ।
एमालेबाट विघठित प्रतिनिधिसभामा रहेका सदस्यहरूको आजको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो । निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ ।
बैठकलाई सम्बोधन गर्दैनेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले प्रतिनिधिसभा पुनःस्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा राख्नुभएको छ ।
उहाँले विगतमा सर्वोच्च अदालतले गरेका फैसला र नजिरले पनि संसद् पुनःस्थापना आवश्यक देखिएको बताउनुभयो ।
महासचिव पोखरेलले गत भदौ २३ र २४ का ‘जेनजी’ प्रदर्शनका क्रममा षड्यन्त्रपूर्वक भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । उहाँले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन आयोग गठनको मागमा अडिग रहेको बताउनुभयो ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षमा जानुपर्ने धारणा राख्नुभएको थियो ।