भीमदत्तनगर(कञ्चनपुर), ७ भदौ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या सम्बन्धी अनुसन्धान गर्न उच्च स्तरीय छानबिन समिति गठन भएको छ ।
गृह मन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा समिति गठन गर्दै कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन समेत गरेको छ ।
मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक हत्याराको खोजीको माग राख्दै आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएको हो ।
बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । मैनाली कारागार व्यवस्थापन विभागका महानिर्देशक हुनुहुन्छ ।
मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन गरेको छ । उहाँको ठाउँमा कुवेर कडायतलाई पठाउने तयारी रहेको छ भने कञ्चनपुरमै कार्यरत प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेट्ठीको पनि सरुवा गरेको छ ।
गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार समितिका अन्य सदस्यहरूमा ३ वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक (डिआर्इजी) र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ का प्रतिनिधि छन् ।
पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए ।
बिहीबारै मात्रै आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।


















