- लरा गोजी र प्याट्रिक ज्याकसन
जेनेभा(स्वीजरल्याण्ड), ९ मंसिर(बीबीसी) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले पेश गरेको विवादित २८ बुँदे शान्ति योजनामा गरिएका प्रस्तावित संशोधनको स्वागत गर्नुभएको छ।
युक्रेनका युरोपेली साझेदारहरूको समेत प्रयासपश्चात् यसअघि रुसको युद्ध लक्ष्य प्राप्तितर्फ बढ्ता ढल्किएको ठानिएको योजनाको संशोधित मस्यौदा तयार भएको जस्तो देखिएको छ।
सन् २०२२ देखि जारी रुस(युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले प्रयासहरू तीव्र पारिरहेको छ।
जेलेन्स्कीको भनाइ
“अब चाहिँ युद्ध अन्त्यका निम्ति आवश्यक कदमहरू चाल्न सकिन्छ”, जेलेन्स्कीले टेलिग्राममा बताउनुभएको छ,”प्रारूपमा थुप्रै सही पक्षहरू थपिएका छन्।”
यसबीच मङ्गलवार बिहान सबेरै राजधानी किएभमा रुसी क्षेप्यास्त्र तथा ड्रोनहरूको लहरले एक अपार्टमेन्ट भवनमा प्रहार भएको र त्यसपछि खानेपानी तथा विद्युत् आपूर्ति अवरुद्ध भएको मेयर भिताली क्लित्स्कोले बताउनुभएको छ।
युक्रेनको ऊर्जा मन्त्रालयले पनि देशको ऊर्जा संरचनाहरूमा ूदुस्मनद्वारा विशाल, एकीकृत हमलाू भएको पुष्टि गर्यो।
“ऊर्जा अधिकारीहरूले यी आक्रमणका परिणाम जाँच्ने छन् र सुरक्षा अवस्था अनुकूल हुनासाथ सकेसम्म चाँडो तिनको पुनर्स्थापना गर्ने छन्”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।
अमेरिकी तथा युक्रेनी अधिकारीहरूले आइतवार जिनिभामा भेटेर अक्टोबरमा अमेरिकी तथा रुसी अधिकारीहरू मिलेर तयार पारेको योजनामाथि छलफल गरेका थिए। उक्त योजनाले किएभ र उसका युरोपेली साझेदारहरू चिन्तित बनेका थिए।
सो भेटमा प्रारम्भिक योजनामा संशोधन गरिएका विवरण आएका थिए।
स्वीट्जर्ल्यान्डमा भएको उक्त भेटमा रुसी प्रतिनिधि उपस्थित थिएनन्।
सोमवार एकजना क्रेम्लीनका अधिकारीले ती संशोधनहरूलाई पटक्कै रचनात्मक नभएको भन्दै खारेज गर्नुभयो।
‘रुसतर्फ ढल्किएका छैनौँ’
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ट्रम्प प्रशासनले युद्ध अन्त्यका लागि गरिरहेको उसको प्रयासमा रुसतर्फ नढल्किएको बताउनुभयो ।
“यो युद्ध अन्त्य गराउन संयुक्त राज्य अमेरिका दुवै पक्षसँग बराबरी रूपमा प्रस्तुत भइरहेको छैन भन्ने चर्चा सम्पूर्ण रूपमा गलत हो”, उहाँले पत्रकारहरूलाई बताउनुभयो।
युद्ध समाप्तिका लागि योजना बन्नेबारे राष्ट्रपति ट्रम्प आशावादी रहेको लेभिटले भन्नुभयो ।
जिनिभामा भएको बैठकपश्चात् बोल्दै ट्रम्पले सामाजिक सञ्जालमा केही राम्रो कुरा भइरहेको भन्नुभयो, र उहाँले थप्नुभयो, “तर नभएसम्म विश्वास नगरौँ।”
जिनिभामा भएको बैठकको सुरुमै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उक्त २८ बुँदे शान्ति योजना क्रेम्लीनले मस्यौदा गरेको भन्ने चर्चा अस्वीकार गर्नुभएको थियो। त्यसमा भएका धेरै बुँदा रुसको पक्षमा देखिएकाले त्यस्ता चर्चा भएका थिए।
सोमवार साँझ जेलेन्स्कीले संशोधित योजना सही दिशामा रहेको बताउनुभयो।
“संवेदनशील विषयहरू, जटिल मुद्दाहरूबारे म राष्ट्रपति ट्रम्पसँगै कुरा गर्ने छु”, उहाँले भन्नुभयो।
जेलेन्स्कीको कार्यालयका एक अधिकारीका अनुसार यसअघि शुक्रवार चुहाइएको २८ बुँदे योजना अब बाँकी छैन।
फाइनान्सियल टाइम्ससँग बोल्दै जिनिभा बैठकमा पनि उपस्थित रहेका युक्रेनका प्रथम उपविदेशमन्त्री सेर्गी किस्लित्साले नयाँ संशोधित योजनामा १९ बुँदा रहेको अनि भूभाग त्याग्ने जस्ता अति संवेदनशील विषयहरू शीर्ष नेताहरूले टुङ्ग्याउने सहमति भएको बताउनुभयो ।
मङ्गलवार युक्रेनका युरोपेली साझेदारहरूबीच पछिल्ला विकास क्रमबारे छलफल हुने यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले भन्नुभयो।
युक्रेनमा न्यायोचित र दिगो शान्तिका लागि अझै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो।


















