- प्रदीप बस्याल
बीबीसी न्यूज नेपाली
काठमाडौं, ११ मंसिर । नेपाली श्रमिक नै ६५ हजारभन्दा धेरै रहेको नेपालको एउटा मुख्य श्रम गन्तव्य दक्षिण कोरियामा थप साढे तीन हजार नेपालीहरू जान पाउने गरी हजारौँ आवेदकहरू सम्मिलित कोरियाली भाषा परीक्षा चलिरहँदा अधिकारी तथा विज्ञहरूले त्यहाँ बढिरहेका दुर्घटना र मानसिक स्वास्थ्यलाई चिन्ताको रूपमा औँल्याएका छन्।
दक्षिण कोरियामा नेपालबाट अदक्ष कामदार जाने गरे तापनि उनीहरूले पाउने राम्रो तलबले गर्दा उक्त श्रम गन्तव्य आकर्षक बनेको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाकी प्रमुख बिन्दा आचार्यले बीबीसीलाई बताउनुभएको छ।
“न्यून खर्चमै त्यस्तो रोजगारीको अवसर पाउँदा धेरैलाई कोरियाले आकर्षित गरेको पाइन्छ”,ईपीएस कोरिया शाखाकी निर्देशक आचार्य भँन्नुहुन्छ ।
“न्यूनतम दुई लाख रुपैयाँ तलब हुने त्यस्तो अवसरमा धेरैजसोले बसोबासको सुविधा समेत उपलब्ध गराएका हुन्छन् भने कसै कसैले खानपानसमेत तलब बाहेकमै दिने गर्छन्।”
त्यहीँका नागरिक सहर व्यवहार गरिने भएकाले तुलनात्मक रूपमा सुरक्षित गन्तव्य भइकन पनि पछिल्लो समय श्रमिकबारे देखिन थालेका समस्याले दुवै देशहरूलाई आफ्ना नीतिहरू निरन्तर परिमार्जन गर्नुपर्ने देखिएको एकजना श्रमविज्ञले टिप्पणी गर्नुभएको छ ।
“ईपीएस भाषा परीक्षा पास गरेर आउने आत्मविश्वासले कार्यस्थलमा आत्मविश्वास दिँदैन”, श्रमविज्ञ मीना पौडेल भन्नुहुन्छ। “नयाँ परिवेश, मौसम, प्रविधिजस्ता अनेकौँ पक्षमा नेपाली श्रमिकहरू सहज बन्न नसक्दा समस्याहरू आउँछन्।”
दक्षिण कोरियाले पछिल्लो समय कृषि तथा पशुपालन, उत्पादन, निर्माण, सेवा र पानीजहाज निर्माण क्षेत्रमा नेपालबाट कामदार लैजाने बताएको छ। तर उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा उच्च सङ्ख्यामा कामदार माग हुने गरेको छ।
आकर्षण
सन् २०२५ मा ईपीएसमार्फत् १ लाख २ हजार पाँच सय जनाले कोरिया जानका लागि आवेदन दिएकामा त्यसमध्येबाट सन् २०२७ का लागि बढीमा ५ हजार ३ सयजना कोरिया जान पाउनेछन्।
हाल त्यसअन्तर्गत उत्पादन क्षेत्रमा जान चाहने ६७ हजार जनाले परीक्षा दिँदैछन्। नेपाल सरकारलाई दुई वर्षपछिका लागि ३ हजार ५ सय जना उत्पादनमूलक र १ हजार ८ सय जना कृषि तथा पशुपन्छी क्षेत्रमा माग भए अनुसार ईपीएस परीक्षा सञ्चालन गरिएको हो।
“कमाइको राम्रो हिस्सा बचत गर्न सकिने भएकैले यहाँ राम्रो जीविकोपार्जन गरिरहेकाहरूसमेत जाने गरेको पाइन्छ”, निर्देशक आचार्य भन्नुहुन्छ ।
“एकपटक पाँच वर्ष काम गरिसकेपछि थप पाँच वर्षका लागि काम गर्न पाइन्छ। त्यसो गर्न सक्दा जीवनस्तर राम्रोसँग चलाएर पछि नेपाल फर्केपछि केही उद्यम गर्न सक्ने गरी बचत गर्न सकिने अवस्था रहन्छ।”
वैदेशिक रोजगारीमा रहेकाहरूलाई फाइदा हुनसक्ने गरी सामाजिक सुरक्षा कोषसम्बन्धी कानुनमा परिवर्तन
अधिकांश कामदार कोरियामा १५ देखि २५ प्रतिशत रकम त्यहाँ खर्च गरेर बाँकी बचत गर्न सक्ने अवस्था रहने गरेको जानकारहरू बताउँछन्।
नेपालले सन् २००४ बाट ईपीएस प्रणालीबाट दक्षिण कोरिया कामदार पठाउन सुरु गरेको थियो। तर त्यसभन्दा अगाडि १९९४ बाटै दक्षिण कोरिया कामदार पठाउने गरेको अभिलेखहरूमा पाइन्छ।
हाल कोरियाजस्तै जापान र इजरायलका लागि समेत सरकार(सरकारबीच सम्झौता भएर उनीहरूले नै गर्ने छनौटका भरमा नेपालीहरू श्रममा जाने गरेका छन्।
दोहोरिएर जाँदाको फाइदा
हाल ई-नाइन अर्थात कामदार भिसाका लागि आश्रित व्यक्ति लैजान नपाउने व्यवस्था छ भने इ-सेभेन भनिने व्यावसायिक र अर्ध दक्षसहितका उच्च क्षमताका श्रमिकका हकमा परिवारलाई लैजाने सुविधा हुने बताइन्छ।
धेरै अदक्ष नेपाली श्रमिकहरू दोस्रो पाँच वर्षका लागि फर्कँदा अनुभवका आधारमा इ-सेभेन हैसियतमा फर्कने गरेका पाइन्छन्।
श्रमविज्ञ मीना पौडेल आप्रवासन शासन र व्यवस्थापनका हिसाबले अन्य देशको तुलनामा दक्षिण कोरियालाई राम्रो मान्न सकिने बताउँनुहुन्छ ।
“कम्तीमा बिदाको सुनिश्चितता छ। ज्यालामा पारदर्शिता छ। सामाजिक न्यायका कुरालाई प्राथमिकता दिइएको छ”, पौडेल भन्नुहुन्छ,”ती सकारात्मक पक्षको चर्चा गरिरहँदा हामीले त्यहाँको कडा व्यावसायिक अनुशासन, एक्लिँदो समाज, भाषाको समस्याजस्ता पक्षले दिने चुनौती बिर्सन हुँदैन।”
उहाँले नेपालले अझै आफ्ना श्रमिकहरूको कार्यक्षेत्रको जोखिम व्यवस्थापन गर्ने पक्षमा धेरै काम गर्न आवश्यक रहेको औँल्याउनुभयो।
ताजा चुनौती
सोलस्थित नेपाली दूतावासकी श्रम काउन्सिलर मैया कँडेलले कात्तिक महिनामा आफूहरूले सामना गरेका चारवटा मृत्युका घटनाले त्यहाँ नेपाली श्रमिकले झेलेका समस्याको पछिल्लो चित्र देखाउने बताउनुहुन्छ।
“दुईजनाले मानसिक समस्याका कारण आत्महत्या गर्नुभयो भने अर्को दुई मृत्युमा एक औद्योगिक दुर्घटना र अर्को सडक दुर्घटना थियो”, कँडेलले बीबीसीसँग भन्नुभयो,”औद्योगिक दुर्घटनाको कुरा गर्दा एकातर्फ त्यस्ता सुविधा सम्पन्न कार्यस्थलमा पहिले काम नगरेको र अर्कोतर्फ त्यहाँ राम्रोसँग सञ्चार गर्ने भाषिक दक्षता नहुनु रहेको छ।”
उहाँले कोरियामा धेरैतिर साङ्केतिक कुराहरू समेत अंग्रेजीमा नलेखिने अवस्था हुने भन्दै त्यस्ता परिस्थितिको मारमा नेपाली श्रमिकहरू पर्ने गरेको औँल्याउँछिन्।
“उद्योग तथा कलकारखानामा महत्त्वपूर्ण निर्देशनहरू उल्टो बुझ्दा वा बुझ्न नसक्दा स्वचालित मसिनजडित कार्यस्थलमा ज्यानै जाने र अङ्गभङ्ग हुने गरेका धेरै घटनाहरू पाइएका छन्”, मैया कँडेलले भन्नुभयो ।
“कतिपय अवस्थामा मेसिनहरू सफा गर्ने क्रममा समेत श्रमिकहरू हताहत भएका छन्। निद्रा राम्रोसँग नपुग्दा वा अन्य तनावका असर समेत कार्यस्थलमा दुर्घटनाका रूपमा देखिने गरेका छन्।”
वैदेशिक रोजगार बोर्डको सचिवालयको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदनमा त्यहाँ १९ नेपालीहरूको मृत्यु हुनुका साथै ११ जना गम्भीर घाइते एवं अङ्गभङ्ग भएको उल्लेख छ।


















