Prakash Adhikari November 27, 2025

अजमान(युएई), ११ मंसिर । कप्तान अशोक धामी र दर्श सुनारको शतकीय साझेदारीको मद्दतमा नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

युएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट ग्राउण्ड २ मा भइरहेको प्रतियोगितामा नेपालले बिहीबार हङकङलाई १ सय १९ रनले पराजित गर्‍यो ।

खेलमा २ सय ७१ रनको लक्ष्य पाएको हङकङ अजमानस्थित सेभेन ड्रिस्ट्रिक ग्राउन्ड २ मा ४०.५ ओभरमा १ सय ५१ रनमा अलआउट भयो ।

नेपाल यस खेल जितेर समूह ‘ए’ को विजेता बनी सेमिफाइनलमा पुगेको छ । नेपालले सोमबार साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो ।

अब नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्ने छ । अर्को सेमिफाइनल यूएई र ओमानका बीच हुनेछ । दुवै सेमिफाइनल शनिबार हुनेछन् ।

आजको खेलमा हंगकंगलाई रोक्ने क्रममा नेपालका अपराजित पौडेलले ४ र अशोक धामीले ३ विकेट लिए । अपराजितले १० ओभरमा २ मेडन राख्दै ३१ र अशोकले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्च गरेका थिए । नेपालका लागि दयानन्द मण्डल, सुशीलबहादुर रावल र रोशन विश्वकर्माले १–१ विकेट लिएका थिए ।

नेपालले दिएको लक्ष्य सामना गर्ने क्रममा हङकङका कप्तान शिव माथुरले सर्वाधिक ३० रन बनाए । उनले २९ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । ओपनर जुड ली २६ बल खेली ३ चौका प्रहार गरी २२, रेयान्श शर्मा १८, अब्दुल समाद खान १९ र आरेज दारले १५ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान अशोक धामीको उत्कृष्ट ब्याटिङमा एसीसी यु १९ प्रिमियर कपमा हङकङलाई २ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७० रन बनाएको छ।

अशोकले ५१ बलमा ३ चौका र ४ छक्का सहयोगमा सर्वाधिक ७३ रन बनाए । दर्श सुनार ४५ रनमा अविजित रहे।

दिलसान अलीले ३२, सिवरिन श्रेष्ठले २५, वंश क्षेत्रीले २४ निरज कुमार यादवले २२ र रोशन विश्वकर्माले २१ रन जोडे । निश्चल क्षेत्रीले ३ रन थपे।

हङकङका लागि अभिमन्यु गनेशन र डेनियल मापले समान २ ।२ विकेट लिए भने प्रित मंगुकिया, अफ्ताव हुसैनले समान १ १ विकेट लिए।

Share Now