सानेपा(ललितपुर), १४ मंसिर । नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गर्नुभएको महाधिवेशनको मिति सर्वसम्मत रूपमा पारित भएको हो ।
पार्टी मुख्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले नियमित १५ औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन् ।
बैठकमा खड्काले क्रियाशील सदस्यता वितरणदेखि, नवीकरण र छानबिन, वडा, पालिका, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनकै तालिका प्रस्तुत गर्नुभएको थियो ।
वैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले दिएको जानकारी अनुसार वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गरिने भएको छ ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको छ ।
त्यस्तै पार्टीको सात प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय केन्द्रिय समितिले गरेको छ ।
साथै नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।
सोमबार केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो ।
स्मरणरहोस् कांग्रेसको १४ औं महाधिवेशन २०७८ मसिर २४ देखि २८ गतेसम्म भएको थियो। त्यसअनुसार यही मंसिर २३ गते म्याद सकिने भएकोले त्यस अगाडि नै महाधिवेशन गर्नु पर्ने र ६ महिना समय थप गर्नु पर्ने पक्षका बीचमा नेपाली कांग्रेसमा विवाद चर्किरहेको थियो ।
नियमित महाधिवेशनको मितिमा सर्वसम्मति जुटेसंगै विशेष महाधिवेशनको प्रस्ताव निस्क्रिय भएको छ ।








