Prakash Adhikari January 26, 2026

काठमाडौं, १२ माघ । साताको दोस्रो कारोबार दिन नेपालको शेयर बजार थोरै ओरालो पाइला चालेको छ तर यस दिन भरोसा लाग्दो कारोबार भएको छ ।

सोमबार धितोपत्र बजार परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा झरेको छ।

यस दिन धितोपत्र बजार परिसूचक घटेपनि समग्र कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १३ अर्ब ७८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ३२ स्टकको ३ करोड ६२ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्रीबाट १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ट्रेड टावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन घटेका स्टकहरुको मूल्य गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ९३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको ५६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ५२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशत बढेको हो। त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो।

Share Now